कक्षा १२ को परीक्षामा बेहेरेश्वर माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण

रासस
२०८२ साउन २९ | मध्यान्ह ०२:०४ बजे

भोजपुर । रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङमा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परीक्षामा सामेल भएका सम्पूर्ण २१ विद्यार्थी नै पास भएको विद्यालयले जनाएको छ ।
सामुदायिकतर्फ कोशी प्रदेशमा यो विद्यालय प्रथम बनेको वडाध्यक्ष चौहानले बताए । ‘बेहेरेश्वर मावि कक्षा १२ को नतिजामा कोशी प्रदेशमा प्रथम बनेको छ’, वडाध्यक्ष चौहानले भने, ‘शैक्षिक सुधारका क्षेत्रमा विभिन्न काम गरेसँगै विद्यालयलाई कोशी प्रदेशमा पहिलो बनाउन सफल भएका छौँ ।’
वि.सं २०७५ बाट कक्षा ११ र १२ सञ्चालन गरिएको विद्यालयमा चार वर्षसम्म वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष चौहानले बताए ।
यो विद्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समेत अध्ययन गरेको उनको भनाइ छ । वि.सं २०१९ मा पूर्व राष्ट्रपति भण्डारीका पिता रामबहादुर पाण्डेले प्राथमिक विद्यालयमा स्विकृत गराएको उनले जानकारी दिए


















