देश

रुपन्देहीको कोटहीमाई गा.पा. ले आफ्नो भवन छाडेर भाडामा कार्यालय संचालन

जगत ठाडा मगर
२०७८ साउन १४ | बिहान ०९:०४ बजे

बुटवल । रूपन्देही जिल्लाको कोटहीमाई गाउँपालिकाको केन्द्रमा सेवाग्राहीलाई पायक पर्ने सुविधा सम्पन्न आफ्नै नयाँ कार्यालय भवन रहेको छ । तर, सेवाग्राही कार्यालय पुग्दा अधिकांश कार्यकक्षमा ताल्चा लगाएको पाइन्छ ।

गाउँपालिकाका मुख्य कर्मचारीका अनुसार सदरमुकाम भैरहवास्थित भाडाको कार्यालयमा भेटिन्छन् र गाउँपालिकाले मायादेवी–८ स्थित एक फ्ल्याट भाडामा लिएर कार्यालयको काम त्यहींबाट गर्ने गरेको पाइएको हो ।

पालिकामा कार्यरत कर्मचारीमध्ये अधिकांशमा कोरोना संक्रमण भएपछि गत वैशाखमा पालिका सिलबन्दी गरिएको थियो । त्यसपछि भैरहवामा फ्ल्याट भाडामा लिएर काम गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौडले बताए ।

गाउँ कार्यपालिकाको बैठकबाटै निर्णय गराएर भाडामा कार्यालय सञ्चालन गरिएको गैडले बताए । ‘असारमा कामको चटारो हुन्छ,’ उनले भने, ‘कार्यालय समयबाहेक पनि काम गर्न पाइयोस् भन्ने उद्देश्यले फ्ल्याट भाडामा लिएका हौं ।’

उपाध्यक्ष भानमति बानियाँका अनुसार गाउँ कार्यपालिकाको बैठकले निर्णय गरी भैरहवामा भाडाको फ्ल्याटमा कार्यालय सञ्चालन गरि आएको हो । फ्ल्याटको भाडा मासिक १६ हजार रुपैयाँ रहेको बानियाँले बताइन् ।

कमेन्टहरु