१५० वर्षअघि अमेरिकाले रुसबाट खरिद गरेको अलास्का जहाँ ट्रम्प र पुटिन भेट्दैछन्


वासिङ्टन डिसी । अमेरिका र रुसले आगामी शुक्रबार, अगस्ट १५ मा राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबिचको भेटवार्ताका लागि सहमति जनाएका छन्, जसमा युक्रेन युद्ध कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल हुनेछ।
ट्रम्पले एक साताअघि यो बैठकबारे घोषणा गरेका थिए । त्यही दिन उनले रुसलाई चेतावनी दिँदै यदि उसले युक्रेनमा युद्धविराम गर्न सहमत नभए थप अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने बताएका थिए ।
ट्रम्पको आग्रहमा रुस र युक्रेनबिच भएको तीन चरणको वार्ताले दुवै पक्षलाई अहिलेसम्म शान्तिको नजिक ल्याउन सकेको छैन । यस्तोमा अलास्काको एन्कोरेजमा हुने ट्रम्प र पुटिनको बैठकबारे अहिलेसम्म के-के थाहा छ, जानौँ । यो इलाका कुनै समय रुसको हिस्सा थियो भन्ने कुरा कमैलाई थाहा होला ।

- ट्रम्प-पुटिन अलास्कामा किन भेट्दै छन् ?
अमेरिकाले सन् १८६७ मा रुसबाट अलास्का खरिद गरेको थियो, जसले यस भेटलाई ऐतिहासिक महत्त्व दिएको छ । सन् १९५९ मा यो अमेरिकाको राज्य बन्यो ।
रुसी राष्ट्रपतिका सहायक युरी उशाकोभले दुई देश छिमेकी भएको र उनीहरूलाई ‘बेरिङ स्ट्रेट’ ले मात्र छुट्याएको बताए । उशाकोभले भने, ‘हाम्रो लागि बेरिङ स्ट्रेट पार गरेर उडान भर्नु र दुई देशका नेताहरूको यति महत्त्वपूर्ण र लामो समयदेखि प्रतीक्षा गरिएको शिखर सम्मेलन अलास्कामा हुनु बिल्कुल सही छ।’
अलास्का अन्तिम पटक मार्च २०२१ मा एक ठुलो अमेरिकी कूटनीतिक कार्यक्रमको केन्द्र बनेको थियो । त्यतिबेला जो बाइडेनको नयाँ कूटनीतिक र राष्ट्रिय सुरक्षा टोलीले एन्कोरेजमा आफ्ना चिनियाँ समकक्षीहरूसँग भेटेका थिए । त्यस बैठकमा चीनले अमेरिकामाथि ‘अहङ्कार र पाखण्ड’ को आरोप लगाएपछि वातावरण तनावपूर्ण बनेको थियो ।

- अलास्कामा ट्रम्प र पुटिन कहाँ भेट्दै छन् ?
ह्वाइट हाउसले मंगलबार बैठक अलास्काको सबैभन्दा ठुलो सहर एन्कोरेजमा हुने पुष्टि गरेको छ । द्विपक्षीय बैठकको घोषणा गर्दा ट्रम्पले यो ठाउँ ‘धेरै कारणले धेरै लोकप्रिय’ रहेको बताएका थिए, तर उनले यो बैठक राज्यको यस सबैभन्दा ठुलो सहरमा हुनेछ भन्ने कुरा भने बताएका थिएनन् ।
दुवै नेताको मेजबानी अलास्काको सबैभन्दा ठुलो सैन्य अखडा, जोइन्ट बेस एल्मेन्डोर्फ-रिचर्डसनमा हुनेछ । ६४ हजार एकडमा फैलिएको यो अखडा आर्कटिक क्षेत्रमा अमेरिकी सैन्य तयारीहरूको एक महत्त्वपूर्ण केन्द्र हो ।
- पुटिन र ट्रम्प किन भेट्दै छन् ?
ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न धेरै प्रयास गरिरहेका छन्, तर अहिलेसम्म उनलाई धेरै सफलता मिलेको छैन । राष्ट्रपति पदका उम्मेदवारको रूपमा उनले पद सम्हालेको २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने वाचा गरेका थिए । उनले बारम्बार यो पनि भनेका थिए कि यदि सन् २०२२ मा रुसी आक्रमणको समयमा उनी राष्ट्रपति भएको भए यो युद्ध ‘कहिले पनि हुने थिएन’ ।
गत महिना ट्रम्पले आफू पुटिनबाट ‘निराश’ भएको बताएका थिए । असन्तुष्टि बढेपछि ट्रम्पले पुटिनका लागि अगस्ट ८ को समयसीमा तोके, जसमा तत्काल युद्धविराममा सहमति नदिए थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिइएको थियो ।

समयसीमा पूरा हुनासाथ ट्रम्पले प्रतिबन्धको सट्टा आफू र पुटिन अगस्ट १५ मा आमनेसामने भेटवार्ता गर्ने घोषणा गरे । ट्रम्पका अनुसार, यो बैठक अमेरिकी विशेष दूत स्टीव विटकफको मस्कोमा पुटिनसँग भएको ‘अत्यन्त सार्थक’ वार्ता पछि तय भएको हो ।
बैठकअघि ह्वाइट हाउसले यस द्विपक्षीय भेटघाटबाट युद्धविराममा सहमति बन्न सक्छ भन्ने अनुमान कम गर्ने प्रयास गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले भनिन्, ‘यो राष्ट्रपतिलाई सुन्ने मौका हो।’ उनले अलास्का भ्रमणपछि ट्रम्प रुस पनि जान सक्ने बताइन् ।
सोमबार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले यस बैठकलाई ‘वातावरण बुझ्ने भेटघाट’ मान्ने र यसको उद्देश्य पुटिनलाई युद्ध अन्त्य गर्न मनाउने रहेको बताए ।
- के युक्रेन यसमा सामेल हुनेछ ?
यो बैठकमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको सहभागी हुने अपेक्षा गरिएको छैन । सोमबार ट्रम्पले भने, ‘उनी आउन सक्छन्, तर उनी पहिले नै धेरै बैठकहरूमा सामेल भइसकेका छन्।’ यद्यपि, ट्रम्पले बैठक पछि उनले सबैभन्दा पहिले जेलेन्स्कीलाई फोन गर्ने पनि बताए ।

पछि ह्वाइट हाउसका एक अधिकारीले ट्रम्प र जेलेन्स्कीले बुधबार पुटिनसँग हुने अमेरिकी राष्ट्रपतिको बैठकअघि भर्चुअल भेटवार्ता गर्ने बताए । यस कुराकानीमा धेरै युरोपेली नेताहरू पनि सामेल हुनेछन् ।
पुटिनले जेलेन्स्कीलाई सामेल नगर्न माग गरेका थिए, तर ह्वाइट हाउसले पहिले नै ट्रम्प तीनै नेताहरूको संयुक्त बैठकका लागि तयार रहेको बताइसकेको थियो । जेलेन्स्कीले युक्रेनको राय बिना हुने कुनै पनि सम्झौता ‘बेकारको निर्णय’ हुने बताएका थिए ।
- दुवै पक्षले यसबाट के हासिल गर्न चाहन्छन् ?
यद्यपि, रुस र युक्रेन दुवैले युद्ध अन्त्य गर्न चाहेको बताएका छन्, तर उनीहरूका सर्तहरू एक-अर्कालाई स्वीकार्य छैनन् । सोमबार ट्रम्पले उनी ‘युक्रेनका लागि (रुसको कब्जामा रहेको) केही इलाका फिर्ता लिने प्रयास गर्ने’ बताएका थिए । ’तर हुनसक्छ ‘केही अदला-बदली वा जमिनमा परिवर्तन’ गर्नुपर्नेछ,’ उनको भनाई थियो ।
युक्रेनले रुसको कब्जामा रहेको कुनै पनि इलाकालाई मान्यता नदिने कुरा स्पष्ट पारिसकेको छ, जसमा क्रिमिया पनि सामेल छ ।
यो हप्ता जेलेन्स्कीले जमीनको ‘अदला-बदली’ को विचारलाई खारेज गर्दै भने, ‘हामी रुसलाई त्यसको कामको इनाम दिने छैनौँ।’
यसैबिच पुटिन आफ्ना क्षेत्रीय दाबी, युक्रेनको तटस्थता र त्यसको सेनाको आकारलाई लिएर आफ्ना मागहरूमा अडिग छन् । रुसले पश्चिमी सैन्य गठबन्धन नेटोले छिमेकी देश अर्थात् युक्रेनलाई आफ्नो सेनालाई रुसको सीमाको नजिक ल्याउन प्रयोग गरिरहेको आशंका व्यक्त गरेको थियो ।
सीबीएस न्यूजका अनुसार, ट्रम्प प्रशासनले युरोपेली नेताहरूलाई एउटा यस्तो युद्धविराम सम्झौतामा राजी गराउने प्रयास गरिरहेको छ, जसमा युक्रेनको ठुलो हिस्साको नियन्त्रण रुसलाई सुम्पिनेछ ।
वार्तासँग सम्बन्धित स्रोतहरूका अनुसार, यस सम्झौता अन्तर्गत रुसले क्रिमिया प्रायद्वीपमा आफ्नो नियन्त्रण कायम राख्न सक्नेछ र पूर्वी युक्रेनको दोनबास क्षेत्र (दोनेत्स्क र लुहांस्क) लाई आफ्नो अधीनमा लिन सक्नेछ ।
रुसले सन् २०१४ मा क्रिमियामा कब्जा गरेको थियो र हाल दोनबास क्षेत्रको धेरैजसो भागमा त्यसको नियन्त्रण छ । यस सम्झौता अन्तर्गत रुसलाई खेरसोन र जापोरिजिया क्षेत्रहरूबाट हट्नुपर्नेछ, जहाँ वर्तमानमा त्यसको आंशिक रूपमा सैन्य नियन्त्रण छ ।
फक्स न्यूजसँगको कुराकानीमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले कुनै पनि भविष्यको सम्झौता ‘कसैलाई पनि धेरै खुसी नबनाउने’ हुने बताएका छन् । उनले भने, ‘तपाईँले यहाँ शान्ति बनाउनुपर्नेछ… तपाईं केवल औँला उठाउन सक्नुहुन्न। शान्तिको बाटोमा एक निर्णायक नेता बस्छन् र मानिसहरूलाई एकसाथ आउन बाध्य पार्छन्।’ बीबीसी























