एक वर्ष अवधिमा प्रेस स्वतन्त्रता हननका घटना ९४, सबैभन्दा बढी धम्की र दुर्व्यवहारका


काठमाडौं । नेपालमा बितेको एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएका छन् । प्रेस काउन्सिल नेपालका अनुसार, ०८१ साउन १ गतेदेखि ०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएको पाइएको हो ।
“यीमध्ये धम्की/दुर्व्यवहारका घटनाहरू सबैभन्दा बढी ४१ रहेका छन्,” प्रेस काउन्सिल नेपालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रेस काउन्सिलले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी घटनाको अभिलेख राख्दै आएको छ ।
“यस्तै आक्रमण/कुटपिटका घटना २२, पेसागत असुरक्षा १३, कब्जा/अवरोध सात, पक्राउ/पक्राउ प्रयासका घटना सात रहेका छन् । यस्तै, नीतिगत बन्देजका दुई, पत्रकार हत्या एक, जातीय विभेदका घटना एक रहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।
प्रदेशअनुसार, सबैभन्दा बढी वाग्मती प्रदेशमा ३८ घटना भएका छन् । यस्तै, मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोसीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देशबाहिर एउटा घटना भएका छन् ।
लैंगिक आधारमा यस अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएको पाइएको छ । “घटना ९४ वटा भएको भएपनि एउटै घटनामा एक वा एकभन्दा बढी व्यक्ति पीडित भएको हुँदा समग्र पीडितको संख्या घटना संख्याभन्दा बढी देखिएको हो,” प्रेस काउन्सिलले भनेको छ ।
गत आर्थिक वर्ष प्रेस स्वतन्त्रता दुरुपयोगका ९ घटना भएकामा बागमती प्रदेशमा ४, मधेस प्रदेशमा ३ र कर्णालीमा २ घटना भएको पाइएको छ ।























