बसमा अचेत भेटिएका वृद्धको मृत्यु

रासस
२०८२ साउन २६ | मध्यान्ह ०४:०४ बजे

दमौली (तनहुँ), साउन २६ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको आज मृत्यु भएको छ । कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरिका करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । बसबाट झारेपछि प्रहरीले उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो ।


















