पुराना मुद्दा टुङ्ग्याउँदै सिरहा जिल्ला अदालत


सिरहा । सिरहा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गर्दै कुल ६२ दशमलव २३ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको छ । अदालतद्वारा सार्वजनिक वार्षिक प्रगति विवरणअनुसार सो अवधिमा जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका कुल नौ हजार १९१ मुद्दामध्ये पाँच हजार ७२० मुद्दा फर्छ्यौट भएका छन् भने तीन हजार ४७१ मुद्दा अझै बाँकी छन् ।
मुख्य न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीका अनुसार, जिम्मेवारी सरेर आएका चार हजार ११२ मुद्दामध्ये तीन हजार ११० र नयाँ दर्ता भएका चार हजार ९७९ मुद्दामध्ये दुई हजार ४१० फर्छ्यौट गरिएको हो । उहाँका अनुसार अघिल्ला आर्थिक वर्ष २०८०/८१ मा अदालतले ५० दशमलव ८६ प्रतिशत र २०७९/८० मा ४८ दशमलव दुई प्रतिशत मुद्दा फर्छ्यौट गरेको थियो ।
त्यस्तै अदालतको हालको भवन साँघुरो र मुख्य सडकछेउमा रहेको हुँदा सेवा प्रवाहमा विभिन्न कठिनाइ भइरहेको मुख्य न्यायाधीश उप्रेतीले बताए । सवारी पार्किङको अभाव, होहल्ला र कार्यसम्पादनका लागि आवश्यक स्थानको कमी अदालत सञ्चालनमा बाधक भएको उनको भनाइ छ ।
‘सर्वोच्च अदालतले नयाँ भवनका लागि बजेट दिन तयार भए पनि उपयुक्त जग्गा नहुँदा काम अघि बढ्न सकेको छैन,’ उनले भने, ‘हामी करिब सात वर्षदेखि कृषि ज्ञान केन्द्रको जग्गा अदालतका लागि प्राप्त गर्ने प्रयासमा छौँ, तर फाइल मुख्यमन्त्री कार्यालयमा अड्किएको छ ।’ उनले सदरमुकाम क्षेत्रमै नयाँ भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न स्थानीय सरकार र सरोकारवालाहरूलाई पहल गरिदिन आग्रह गरे ।























