काठमाडौंको नारायणटारबाट साढे तीन लाखसहित पाँच जना जुवाडे पक्राउ

जगत ठाडा मगर
२०७८ साउन १४ | बिहान ०७:०४ बजे

काठमाडौ । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौं नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ३ लाख ५९ हजार नगदसहित उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए ।
मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले तामाङसहित पाँच जनालाई पक्राउ गरेको हो ।
बुधबार साँझ प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो । जुवा खालबाट प्रहरीले नगदसहित तीन बुक तास बरामद गरेको हो । पक्राउ परेका निजहरूलाई थप अनुसन्धान गरी म्याद थपको लागि लैजाने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।रासस






















