सुदुरपश्चिम प्रदेश

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि…

रासस
२०८२ साउन २१ | बिहान ०७:०४ बजे

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जङ्गली हात्ती प्रवेश गर्न थालेको छ । हात्ती बस्ती क्षेत्रमा दिउँसै देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

मङ्गलबार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर सडक र खेतबारी हुँदै हिँडिरहेको देखिएको हो । हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ भगाएका थिए । हात्ती पुनः बस्तीमा फर्कने डर कायमै रहेको स्थानीय लक्ष्मण रानाले बताए ।

जाई–पर्सिया गाउँमा प्रत्येक वर्ष जङ्गली हात्ती प्रवेश गर्ने, किसानको बालीमा क्षति पुर्याउने र जनधनको क्षति पुर्याउने काम गर्दै आएको छ । हात्ती लालझाडी संरक्षण क्षेत्र हुँदै जाई र पर्सिया गाउँ पसेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । 

लालझाडी सबडिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले लालझाडी संरक्षण क्षेत्रमा पाँच जङ्गली हात्ती रहेको जानकारी दिए। उनका अनुसार हात्ती बस्ती हुँदै निकुञ्जतर्फ आउजाउ गर्ने गरेको छ । हात्ती बस्तीतर्फ जुनसुकै बेला पनि आउन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए।

कमेन्टहरु