बारामा शंकास्पद अवस्थामा एक महिलाको शव भेटियो

जगत ठाडा मगर
२०७८ साउन १३ | मध्यान्ह ०४:०४ बजे

वीरगञ्ज । बारामा शंकास्पद अवस्थामा एक महिलाको शव भेटिएको छ । पचरौता नगरपालिका–३ रामनगर स्थित खेतमा महिलाको शव भेटिएको हो ।
अन्दाजी ४०–४२ वर्षीया मृतक महिलाको पहिचान खुल्न सकेको छैन । बाटोको छेउमै तलपट्टी खेतमा उत्तानो परेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
‘शरीरमा चोटपटक देखिएको छैन, घाँटीमा सल त बेरिएको छ ।’ उनले भने ‘ घटना शंकास्पद छ, अनुसन्धान गरिरहेका छौं ।’ प्रदेश प्रहरी डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकुर ल्याएर समेत अनुसन्धान शुरु गरिएको उनले बताए ।
स्थानीयले बुधबार बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।






















