एनआरएन एनसीसी कतारको नयाँ नेतृत्वमा पदम गिरी


दोहा, कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसीसी) कतारको ११औं राष्ट्रिय अधिवेशन सम्पन्न भए सङ्गै पदम गिरिको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन।
शुक्रबार दोहाको क्राउन प्लाजा सप्पन्न अधिवेशन समितिका संयोजक केशव कार्कीको सभापतित्व तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीको प्रमुख आतिथ्यता बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले कतार सरकारको लेबर मिनिष्ट्रीका प्रतिनिधिहरुले समेत बुझ्ने गरी अंग्रेजी र नेपाली भाषामा आफ्ना भनाइ राख्दै कतार नेपालीको दोस्रो घर भएको बताए । उनले एनआरएनए नेपाल सरकारकै अंग भएका कारण कतारका नेपाली श्रमिकको तलबमा पुनर्विचार गर्न आग्रह गरे।
डा. केसीले एनआरएनए प्रवासमा रहेका नेपालीलाई एकीकृत गर्न बनेको सामाजिक संस्था रहेको बताए । एनआरएनएले आवाज उठाएका कारण श्रमिक कोष आएको बताउँदै उनले त्यो कोषमा ८ अर्बभन्दा बढी जम्मा भएको हुँदा उक्त रकम श्रमिककै लागि खर्चनुपर्ने बताए ।
केसीले एनआरएनए फुटाउन हक अधिकार कसैलाई नभएको बताउँदै एक कक्षामा फेल भएपछि दुई कक्षामा जान नपाइने उदाहरण दिँदै निर्वाचनबाट हारेर समानान्तर समिति बनाउने कस्तो विधि हो भन्दै प्रश्न गरे । उनले अन्तर्राष्ट्रिय समितिको विधानमै एमआईस प्रणालीबाट सदस्यता वितरण गर्नुपर्ने लिखित प्रावधान भए पनि एनसीसी कतारले विधानसम्मत काम नगरेको, सदस्यता वितरणमा ढिलासुस्ती गरेको र कतारको अधिवेशन नै सार्ने रमेश भट्ट मातहतको एनसीसीले चाल चलेको हुँदा आफूहरूले कारबाही गरेर केशव कार्कीलाई संयोजक तोकेर एनसीसीको अस्तित्व जीवित राखेको बताए।
राष्ट्रिय अधिवेशनको समापन गर्दै सभाध्यक्ष कार्कीले आफ्नो नेतृत्वमा रहेको समितिले अधिवेशन गराउने जिम्मेवारी पाएसँगै सबैको साथ स्नेहले अधिवेशन भव्य भएको बताए । आफू एनसीसी अभियानमै रहेर समाजको हितमा लाग्ने उनले बताए ।एमआईएस प्रणालीमार्फत ४ हजार ६ सय ३ जनाले पञ्जीकृत सदस्यता लिएका छन् । २५ कतारी रियाल पञ्जीकृत सदस्यता शुल्क रहेको थियो भने सदस्यतामार्फत १ लाख १५ हजार ७५ रियाल अर्थात् करिब रु ३८ लाख आम्दानी गरेको छ ।
शुक्रबार राष्ट्रिय अधिवेशन सम्पन्न भए पनि वैधानिक बाध्यताका कारण एनसीसी कतारले बिहीबार साँझ प्रमाण पत्र वितरण तथा शपथग्रहण कार्यक्रमको आयोजना गर्दै पदम गिरीको अध्यक्षतामा सर्वसम्मत चयन भएको ३६ सदस्यीय कार्यसमितिले शपथग्रहण गरेको थियो । निर्वाचन समितिका संयोजक कमलमणि गुरागाईँले सर्वसम्मत चयन भएको कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा रोशन अर्याल, द्वितीय उपाध्यक्ष सुवासबहादुर थापा, तृतीय उपाध्यक्ष लीला राई, महिला उपाध्यक्ष रामकुमारी तामाङ, युवा उपाध्यक्ष टंकबहादुर वि.क., महासचिव शिव भुजेल, सचिवहरूमा क्रमशः खेमराज सुबेदी, ईसीलाल पण्डित र शंकरमान राई, कोषाध्यक्षमा प्रेम कुमार बस्नेत, सह–कोषाध्यक्षमा मो. आजाद मन्सुर, महिला संयोजक अप्सना मिया, युवा संयोजक छम बहादुर चन्द (सुलभ) रहेका छन।
त्यस्तै कार्यसमिति सदस्यहरूमा बलराम कौशल, शेख फैयाज, कृष्ण ढकाल, भानुभक्त शर्मा, निराज स्याङ्तान, मानसिंह बिक, किरण परियार, दीपेन्द्र गैरे, गुणराज कटुवाल, सुशील गौतम, ईशान रेग्मी, रबिन खत्री, प्रेम प्रकाश शाही, रबिन अधिकारी, सियाराम यादव, अर्जुन कुमार यादव, प्रतिमा शिवा, रमेश महर्जन, युवराज पोखरेल रहेका छन।
एनसीसीको लेखा समिति संयोजकमा पदमबहादुर रानाभाट, सदस्य द्वयमा साजिद एकवल, हेमराज रिजाल रहेका छन् । त्यस्तै आईसीसी सदस्यहरूमा झविन्द्र बेबासले, ईश्वरराज पौडेल, शिव कुमार महतो र मीनराज वाग्ले रहेका छन।























