ठमेल र महाराजगन्ज क्षेत्रबाट चक्रे मिलनसहित ४७ जना ‘गुन्डा’ पक्राउ


काठमाडौँ । ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् । चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।
गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय थिए । महाराजगन्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले बताए । उनले भने, ‘अवाञ्छित गतिविधि गर्नेहरू केहीलाई नियन्त्रणमा लिएका छौँ, संख्या यकिन हुँदैछ ।’
प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।























