देश

कोरोना संक्रमणबाट पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु भयो

नवलपुर टुडे
२०७७ अशोज १२ | मध्यान्ह ०७:०६ बजे

वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंको करुणा अस्पतालमा मृत्यु भएको हो । महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेबको मंगलबार बिहान साढे ८ बजे उपचारको क्रममै मृत्यु भएको हो ।

भेन्टिलेटरमा राखेर उपचार चलिरहेकै अवस्थामा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिएका थिए । जगनाथपुरमा नै रहँदा भदौ १९ गते उनलाई रुघाखोकी र ज्वरो आएको थियो र यता एक्लै भएकोले उनी बिदा लिएर घर गएका थिए । घरमा गएर आराम गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि उनलाई उपचारका लागि जनकपुरमा लगिएको थियो । चन्द्रकला अस्पताल जनकपुरमा उपचार गराउँदा पनि स्वास्थ्यमा खासै सुधार नआएपछि उनलाई थप उपचारकालागि असोज १ गते काठमाडौं लगिएको थियो ।

उपचारका लागि टिचिङ अस्पताल लगिए पनि त्यहाँ आईसीयू बेड खाली नभएपछि उनलाई करुणा अस्पतालमा भर्ना गरिएको थियो र असोज ५ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो र अवस्था गम्भीर बन्दै गएपछि असोज ७ गते रातिदेखि नै उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

कमेन्टहरु