वर्तमान प्रधानमन्त्री देउवाको निजी निवासमा पार्टीको पदाधिकारी बैठक सुरु


काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केही बेरअघि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको हो ।
स्रोतका अनुसार बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ र समितिले विवाद टुङ्गो लगाउन नसकेका स्थानका क्रियाशील सदस्यताबारे कसरी निकास दिने भन्नेबारे पनि छलफल हुने छ ।
संस्थापन पक्षले नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा राजनीतिक निर्णयका आधारमा सहमति खोज्नुपर्ने तर्क गर्दै आएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसहित संस्थापन इतर पक्षले भने विवादित क्षेत्रको हकमा १३ औं महाधिवेशनकै आधारमा क्रियाशील सदस्य कायम राखेर महाधिवेशनमा जानुपर्ने तर्क राखेको छ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, कोषाध्यक्ष सीतादेवी यादव, गृहमन्त्री तथा प्रतिनिधिसभामा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहको उपस्थिति रहेको छ ।
त्यस्तै केन्द्रीय सदस्यहरुमा डा. मिनेन्द्र रिजाल, डा.रामशरण महत, पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व उपसभापति गोपालमान श्रेष्ठ लगायतको उपस्थिति रहेको छ ।






















