कृषि, समाचार

नवलपरासीको पाल्हीनन्दनका किसान मल लिन रातिदेखि लाइनमा

नवलपुर टुडे
२०८२ साउन ९ | मध्यान्ह ०२:०४ बजे

नवलपरासी, श्रावण ९ । बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसान मल लिन रातिदेखि नै लाइन बसेका छन् । रासायनिक मल लिन रातिदेखि नै किसानहरू सहकारी र वडा कार्यालय अगडि लाइनमा बसेका हुन्।

नवलपरासीको पाल्हीनदन गाउँपालिका-४ का रामानन्दन हरिजनले भने, “रोपाइँ सकिएको दुई महिना भयो। मलको अभाव भएर अहिलेसम्म पाएका छैनौं। सरकारले उपलब्ध गराउने मल पाउने आशामा रातिदेखि लाइनमा बसेका छौं।”

खेतमा रासायनिक मल प्रयोग नगरेमा धान उत्पादन घट्नेमा उनले चिन्ता व्यक्त गरे। हरिजनले भने, “मल लिन ४ नं वडा कार्यालयको अगाडि रातिदेखि लाइनमा बसेपछि प्रतिकिसान २५ किलो युरिया मल पाएका हौं। मलको अभाव देखेर खेती गरौं कि नगरौं भन्ने दोधारमा छौं।”

नवलपरासीको पाल्हीनन्दनको हरपुरमा बिहीबार ३ बजे रातिदेखि युरिया मल लिन सहकारीको अगाडि किसान लाइनमा बसेका रवीन्द्र हरिजनले बताए। लामो समयदेखि वर्षा नहुँदा अत्यधिक गर्मी बढेसँगै जमिन सुकेर खडेरी लागेको बताउँदै उनले धान सुक्न थालेको उल्लेख गरे। मलको अभाव रहेकाले सबै किसानलाई वितरण गर्ने उद्देश्यले लाइनमा व्यवस्थित गराएर प्रतिकिसान २५ किलोका दरले युरिया वितरण गरिएको पाल्हीनन्दन-४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताए।

आवश्यकता अनुसार मल नपाएको किसानले गुनासो गरिरहेकाले वितरणको पहल थालिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए। मलको कोटा बढाउन आवश्यक रहेको बताउँदै उनले यसका लागि सरोकार भएका निकायसँग समन्वय गरी अगाडि बढ्ने उल्लेख गरे।

कमेन्टहरु