श्रीलंकामा भेटियाे संसारकै सबैभन्दा ठूलो नीलम, जसको मुल्य झण्डै १२ अर्ब पर्ने


काठमाण्डौ । श्रीलंकामा संसारकै ठूलो नीलम भेटिएको छ । श्रीलंकाको रत्नापुर क्षेत्रमा एउटा घरको आँगनमा इनार खन्ने क्रममा नीलमको एक विशाल ढिक्का भेटिएको हो।
पाँच सय दश किलो तौल भएको बहुमूल्य रत्न नीलम भेटिएको बीबीसीले जनाएको छ । यसलाई सेरेडिपिडी सफायर अर्थात भाग्यले जुराएको नीलम नाम दिइएको छ । कोरोनाको बेला श्रीलंकाको रत्न बजार ओरालो लागेको बेला यति ठूलो मात्रामा नीलम भेटिएपछि यसलाई भाग्यले जुराएको भनिएको हो ।
रत्नापुर क्षेत्रलाई श्रीलंकाकै रत्न राजधानीको रुपमा लिने गरिन्छ । यस क्षेत्रमा विभिन्न समयमा विभिन्न प्रकारका रत्नहरु फेला पर्ने गर्दछन् । यस पटक भेटिएको यो नीलम भने अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको बताइएको छ । जानकारका अनुसार यस नीलमको अन्तर्राष्ट्रिय मूल्य लगभग एक सय मिलियन डलर अर्थात झण्डै १२ अर्ब नेपाली रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
यो नीलम धनीले आफ्नो सुरक्षाका कारण नाम र ठेगाना भने खुलाएका छैनन् । एक वर्ष पहिले नै भेटाएको यस नीलमलाई सफा गर्न र यसमा रहेका खराब तत्वहरु निकाल्न एक वर्ष समय लागेको बताइएको छ ।
यो निकै उच्च गुणस्तरको नीलम भएको अनुमान गरिएको छ । रत्न विशेषज्ञ डाक्टर जैमिनी ज्योसाका अनुसार यो नीलम ४० करोड वर्ष पहिले बनेको हुनसक्ने बताउनुभएको छ । उहाँले नै यो नीलम अहिल.ेसम्मकै ठूलो भएको भनेर दाबी गर्नुभएको हो ।
श्रीलंका सबैभन्दा धेरै बहुमूल्य धातु निर्यात गर्ने मुलुकमध्येको एक हो । गत वर्ष श्रीलंकाले बहुमूल्य धातु निर्यात गरेर करिब ५० करोड डलर आम्दानी गरेको थियो । पछिल्लो समय महामारीको कारण बहुमूल्य धातुको उद्योग समस्यामा परेको समयमा सबैभन्दा ठूलो नीलम फेला परेको हो ।






















