देश

बालबालिकाका लागि खोप तयार नभएकाले कोभिड–१९ को तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन सक्ने

जगत ठाडा मगर
२०७८ साउन १३ | बिहान ०८:०४ बजे

काठमाडौं । सरकारले बालबालिकाका लागि अझैसम्म खोप तयार नभएका कारण बालबालिकामा कोरोना संक्रमणको उच्च जोखिम रहेको बताएको छ।

खोप लगाउन नपाएका बालबालिका अब आउन सक्ने कोरोना संक्रमणको तेस्रो लहरको उच्च जोखिममा पर्न सक्ने सरकारको भनाइ रहेको छ ।
“कतिपय विकसित मुलुकमा बालबालिका मात्र खोप लगाउन बाँकी भएकाले उनीहरु बढी प्रभावित हुन सक्ने भनिएको छ,”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, “नेपालमा
अहिलेसम्म पनि अधिकांशले खोप नपाएकाले गम्भीर संक्रमण हुने जोखिम बालबालिकासहित खोप नलगाएका सबै व्यक्तिहरुलाई उत्तिकै रहेको बताए ।”
त्यसैल सबै उमेर समूहकाले जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न छाड्न नहुने र नछाड्न मन्त्रालयले आग्रह गरेको छ ।

हालसम्म भएका अध्ययनहरुले कोभिड–१९ को खोप लगाएका व्यक्तिहरुलाई संक्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने वा मृत्यु हुने जोखिम निकै कम हुने देखाएकाले आफ्नो पालोमा सबैले खोप लगाउन पनि मन्त्रालयले आग्रह गर्दै आएको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बच्चालाई नै भनेर कोरोना संक्रमणको तेस्रो लहर आउछ भन्ने नहुने तर बच्चाहरुले खोप नलगाएका कारण उनीहरु बढी जोखिममा पर्ने बताउँछन् ।

“बच्चाहरुका लागि कोरोनाविरुद्धको खोप आइसकेको छैन । त्यसैले अरुले खोप लगाएर सुरक्षित भएको अवस्थामा बच्चाहरुले खोप लगाउन नपाएका कारण उनीहरुमा संक्रमण धेरै देखिन सक्छ,” उनी भन्छन्, “त्यसैले बच्चाहरुलाई कोरोना संक्रमणबाट जोगाउने राम्रो उपाय अथवा संक्रमण हुन नदिन अभिभावकले नै खोप लगाएर सुरक्षित हुनुपर्छ ।”

जति बढी अभिभावक कोरोनाविरुद्धको खोप लगाएर सुरक्षित हुन्छन् त्यति नै बच्चालाई कोरोना संक्रमणको जोखिम पनि कम हुने उनको तर्क रहेको छ । त्यसैले यदि कोरोना संक्रमणको तेस्रो लहर आएको अवस्थामा बच्चा सबैभन्दा धेरै प्रभावित हुनसक्ने भनिएको डा. पुन बताउँछन् ।

कमेन्टहरु