युरोपियन च्याम्पियन पिएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि


काठमाडौँ । फिफा क्लब विश्वकप फुटबलको उपाधि चेल्सीले जितेको छ। कोल पाल्मरको प्रेरणादायी प्रदर्शन गरेपछि चेल्सीले युरोपियन च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेइन माथि ३-० ले हराउँदै पहिलो पटक क्बल विश्वकपको उपाधि जित्न सफल भयो।
इग्लिस मिडफिल्डर पाल्मरले दुई गोल गर्दा हालै अनुबन्धित जोआओ पेद्रोले टिमका लागि तेस्रो गोल सम्भव बनाएका थिए। न्यू जर्सीको मेटलाइफ स्टेडियममा भएको खेलमा चेल्सीले उच्च फर्ममा रहेको पीएसजीलाई ३-० ले हराउँदा ठुलो संख्यामा दर्शकहरु उपस्थित रहेका थिए।
खेलको २२औं मिनेटमा मालो गुस्तोले नुनो मेन्डेसलाई पछि पार्दै दिएको पास पाल्मरले डोनारुम्मालाई छलेर आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसको आठ मिनेटपछिनै उनले डिबक्स छेउबाट उनले पुन अर्को आकर्षक गोल गरे।
पहिलो हाफको अन्त्यतिर पाल्मरको डिफेन्स चिर्दै दिएको पासमा जोआओ पेद्रोले डोनारुम्मामाथि बाट गरेको चिप बल गोलमा परिणत हुँदा चेल्सीले अविश्वसनिय अग्रता बनाएको थियो। खेलअघि चेल्सीका प्रशिक्षक एनजो मारेस्काले पीएसजीलाई ‘विश्वकै उत्कृष्ट टिम’ भन्दै प्रशंसा गरेका थिए।
दोस्रो हाफमा पीएसजीले खेलमा फर्किने केही प्रयास गरेपनि सफल भएन्। ओस्मान डेम्बेले, लियाम डेल्यापका केही प्रहार सफल हुन सकेनन्। तर पहिलो त्यसअघि हाफमै केही सुनौलो मौका चुकाउन पिएसजी बाध्य भयो। जोआओ नेभेस र डेजायर डोउले उत्कृष्ट अवसर खेर फाले।
खेलको ८५औं मिनेटतिर स्थिति झन् खराब बन्यो जब पीएसजीका मिडफिल्डर नेभेसलाई चेल्सीका डिफेन्डर मार्क कुकुरेलाको कपाल तानेको कारण भिएआर जाँचपछि रातो कार्ड पाए। त्यसपछि पिएसजीलाई खेलमा फर्किन असंभब बन्यो।
८१,११८ दर्शकको उपस्थिति रहेको उक्त खेल प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा ठूलो भिडभाड थियो। त्यसमध्ये अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि उपस्थित थिए। यो जितसँगै चेल्सीले क्लब विश्व च्याम्पियनको उपाधिसँगै लगभग ९० मिलियन पाउन्ड कमाएको छ।























