देश

संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् : डा. बाबुराम भट्टराई

जगत ठाडा मगर
२०७८ साउन १२ | बिहान ०८:०४ बजे

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीका विरूद्ध कोहि कसैले बोल्यो भन्दैमा तरंगित हुनु नपर्ने बताएका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्न र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेपछि डा. भट्टराईले जवाफमा “संघीय लोकतान्त्रिक गणतन्त्र विरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् डराउनु पर्दैन। बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून् ” भनी सामाजिक सञ्जालमा लेखेका छन् ।

भट्टराईले “झिंगाको सरापले डिंगा मर्दैन । कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन,” भनेका छन् ।

विवेकशील साझा पार्टीकै संयोजक मिलन पाण्डेले संघीयताको खारेजी तथा धर्म निरपेक्षताका सम्बन्धमा जनमतसंग्रह आवश्यक रहेको भन्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको प्रस्तावमा असन्तुष्टि जनाइसकेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत संयोजक पाण्डेले विवेकशील साझा पार्टी विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्न र संविधानको पूर्णतः पालना गर्नमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

“घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो । विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ । बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ हुन्,” उनले भनेका छन् ।

कमेन्टहरु