देश

ललितपुरमा नक्कली नोटले सुनको हार खरिद गर्ने दुई जना पक्राउ

जगत ठाडा मगर
२०७७ अशोज ९ | मध्यान्ह ०७:०६ बजे

काठमाडौं । नक्कली नोट दिएर ललितपुरस्थित एक सुन पसलबाट ५ तोला बराबरको सुनको हार लिएर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२७ ज्याठा बस्ने २७ वर्षीय अजय महर्जन र काठमाडौं–२१ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २८ वर्षीय इक्युज तुलाधर हुन् ।

उनीहरुको साथबाट प्रहरीले नक्कली नोट छाप्ने एक थान मेसिन, एक थान ल्याप्टप, एक थान सीपीयू, एक हजार दरका ४६५ थान नक्कली नोट र ३७ थान सक्कली नोट बरामद गरेको हो । यसैगरी एक थान सुनको रानीहार, एक थान तिलहरी, एक थान सुनको औंठी र दुई थान मोबाइल समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

असोज १ गते ललितपुर महानगरपालिका–१४ ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजाललाई चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट थमाई सुनको गहना लिएर उनीहरु फरार भएका थिए । रिजालले बिल बनाउँदै गर्दा सुन किन्न आएका व्यक्ति भने फरार भएपछि उनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नक्कलीनोट बरामद गरी उनीहरुको खोजीकार्य तथा अनुसन्धान तीव्र पारेको थियो ।

Fake currency.. jali note e1601040074669

पक्राउ परेका दुवै जनालाई शुक्रबार ललितपुर जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसुर मुद्दामा सात दिनका लागि म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको महानगरीय अपराध महाशाखा ललितपुरले जानकारी दिएको छ ।

कमेन्टहरु