राजनीति

नेपाली कांग्रेस नवलपरासीमा कलह : केन्द्रले खनाल निकाल्यो, जिल्लाले कँडेल

नवलपुर टुडे
२०८२ असार २७ | मध्यान्ह ०३:०३ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस नवलपरासीमा थप कलह बढेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले नवलपरासीका नेता तथा लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि निष्काशन गर्ने निर्णय गरेपछि थप विवाद बढेको हो ।

केन्द्रले खनाललाई निष्काशन गरेसँगै उता जिल्लाले भने देवेन्द्रराज कँडेललाई कारबाही गरेको छ । केन्द्रको कारबाहीमा परेका खनाल नेता डा. शेखर कोइराला समूहका हुन् भने कँडेल सभापति शेरबहादुर देउवा समूहका हुन् । गत प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई चुनाव हराएको आरोप कँडेल र विनोद चौधरीले खनालमाथि लगाएका थिए । सोही व्यहोराको पत्र पार्टीको केन्द्रीय अनुशासन समितिमा पुगेको थियो । पत्रकै आधारमा समितिले उनलाई कारबाहीको सिफारिस गरेको जनाएको छ ।

खनालले नेतृत्व गरेको निर्वाचन क्षेत्र नम्बर १ मा विनोद चौधरीले जितेका थिए भने कँडेल राप्रपाका उपाध्यक्ष ध्रुव प्रधानसँग पराजित भए । जिल्ला कार्यसमिति नवलपुरका सभापति विक्रम यादवले कँडेललाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरिएको जानकारी गराए । पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उनको भनाइ छ ।

गत वैशाख २९ गतेनै जिल्ला अनुशासन समितिले कँडेललाई कारबाहीको लागि सिफारिस गरेको र बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले सिफारिसलाई अनुमोदन गरेको यादवको भनाइ छ । यादवसहितका नेताहरूले खनालमाथिको कारबाही फुकुवा नगरे त्यसपछिको उत्पन्न हुने अवस्थाको जिम्मा केन्द्रीय समितिले नै लिनुपर्ने पनि बताएका छन् । खनाललाई कारबाही गरिएको भन्दै आज नवलपरासीमा विरोधसभासमेत आयोजना गरिएको छ ।

कमेन्टहरु