वार्षिक २८ करोड बढीको तास खरिद, १५ करोड ४८ लाख भन्दा बढि राजस्व संकलन


काठमाडौ । तास खरिदमा मात्र नेपालले एक वर्षमा साढे २८ करोड रुपैयाँ माथि खर्चिन्छ भन्दा । तर यो कुरा सत्य हो । गत आर्थिक वर्ष २०७७/७८ को १२ महिनामा मात्र नेपालले विभिन्न मुलुकहरूबाट गरी साढे २८ करोड रुपैयाँ माथिको (प्ले कार्ड) खेल्ने तास खरिद गरेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न मुलुकहरूबाट गरी नेपालले कुल २८ करोड ६२ लाख ६४ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६९ हजार १३५ गोटा तास खरिद गरेको छ ।
आर्थिक वर्षमा तास खरिदबाट मात्र सरकारलाई कुल १५ करोड ४८ लाख ५९ हजार रुपैयाँ राजस्व उठेको छ ।
मुख्यगरी चीन, अमेरिका, भारतबाट ठूलो परिमाणमा तास नेपाल आयात हुने गरेकोमा धेरथोर अष्ट्रेलिया, ब्राजिल, मलेसिया, सिंगापुर तथा इजरायलबाट समेत आयात हुने गरेको विभागको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार आर्थिक वर्षमा सबैभन्दा बढी चीनबाट २६ करोड ३२ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ९६ हजार ९९१ गोटा तास नेपाल आयात भएको छ । यस्तै, यो बाहेक डिजिटल (भिडियो) गेमिङ्ग तथा गेम खेलाउन प्रयोग हुने मेसिनहरुको समेत आर्थिक वर्षमा उल्लेखनीय आयात भएको विभागले जनाएको छ ।
यस्तो भिडियो गेमिङ्गका सामग्रीहरु चालू आर्थिक वर्षको १२ महिनामा अधिकतम ३९ लाख २४ हजार रुपैयाँ बराबरको १६ हजार ७१० गोटा आयात भएको विभागद्वारा जारी तथ्याङ्कले जनाइएको छ । जसबाट सरकारलाई १२ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।






















