प्रबास, समाचार

एनसीसी कतारको विवाद बारे यस्तो भन्दै समाजसेवी करिम बकस मिया

रामएकवाल राम
२०८२ असार २६ | मध्यान्ह ०६:०३ बजे

दोहा, कतार । गैर अवासिय संघ राष्ट्रिय समन्वय परिषद कतार (एनसीसी) मा हाल देखिएको प्रतिकुल परिस्थिति एवं आन्तरिक कारणले नभई आईसीसीमा देखिएका समस्या, सम्माननीय अदालतमा विचाराधीन मुद्दाहरुले नै मुख्य कारण भएको समाजसेवी तथा पत्रकार महाससंघ कतारका पुर्व अध्यक्ष करिम बक्स मियाँले बताएका छन्। आफ्नो समाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले आईसीसीमा देखिएको विवाद र विचाराधीन मुद्दा(हरु)को कारण एनसीसी कतारले कुन बाटो अवलम्बन गर्ने भन्ने अन्यौलताको कारण अहिले यस्तो अवस्था आएको बताएका हुन् । गत २५ अप्रीलमा हुनु पर्ने परिषद भेला स्थगित भएपछि नै एनसीसी कतारले प्राविधिक समस्यामा फँसेको हो उनको जिकिर छ ।

गत मङ्गलबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष दिल कुमार श्रेष्ठ र नेपाली महिला समाजकी अध्यक्ष माया केसीले आयोजना गरेको “एनसीसी सन्दर्भ” कार्यक्रमलाई धन्यवाद दिंदै मियाँले लेखेका छन् । “अप्रील २५ मा परिषद भेला गरिएको भए आज यस्तो समस्या आउने थिएन, वा समस्या आएपनी जटिल हुने थिएन। उनले भनेका छन् “एनसीसी कतारले के कारणले त्यो भेला रोक्यो भन्ने प्रश्न नै मुख्य विषय हो। यसको उत्तर जे आए पनि व्यवहारिक कारण भने एनसीसी कतारले सामना गर्नु परेको “चर्को राजनीतिक दबावमा” परेको हो।”

“व्यक्ती र समाज कुनैपनि हालतमा तटस्थ हुन/ बन्न सक्दैन। म वा हामी तटस्थ भनेर कसैले भन्छ भने त्यो सबैभन्दा ठुलो झुट हुन्छ। अझ कुनै मुद्दामा अल्झनु परेको अवस्थामा त तटस्थता आफैंमा भद्दा मजाक हुन्छ, जुन एनसीसी कतारको सबैभन्दा महत्वपूर्ण कमजोरी रह्यो” मियाँले दावी गरेका हुन ।  छलफलमा सबैले आ-आफ्ना धारणा र तर्क राखे झैं मैलेपनि आफ्नो धारणा राखें करिम बक्स मियाँले भनेका छन् “हामी मिल्न सक्दैनौं भने नमिलेको नै राम्रो, मिल्ने वहसमा उत्रेर हामीले समय र सम्वन्धलाई खराव गर्न हुँदैन, तसर्थ हामी सल्लाहले नमिले पनि भावनामा नखेलौ।”

कतारको एनसीसी दुईवटा भएको छैन, प्राविधिक कारणले हाम्रा बाटाहरु दुईवटा भएका मात्र हुन्, र त्यो बाटोहरु अल्पकालीन हुन्। सल्लाहले नै हामीले रोजेको आ-आफ्नो बाटो हिँडौं। आईसीसीको विवाद र मुद्दाहरु सम्माननीय सर्वोच्चमा विचाराधीन छन्, ढिलोचाँडो अन्तिम फैसला अवस्य आउने नै छ। हामीले रोजेको बाटोमध्ये जुन बाटो अदालतले सही करार दिनेछ हामी पून: एक बाटोमा क्याराभान बनेर अघि बढ्ने विश्वास उनले व्यक्त गरेका छन।

अन्तमा उनले थप्दै भने अहिलेको अवस्थामा विश्वमा रहेका ९० वटा एनसीसीहरु मध्ये ५ वटा मात्र एनसीसीसँग गरिएको एमओयू (संवन्धन) फिर्ता लिई आइसीसीले अधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ।ति ५ वटा एनसीसी कतार, यएई, बेल्जियम, अष्ट्रिया र नेदरल्याण्ड मात्र हुन्।बाँकीमा एमआईएस प्रणालीबाट नै सदस्य बन्ने काम भएको/ भई रहेको छ।

मियाँले इच्छुकहरुलाई एमआईएस प्रणाली मार्फत सदस्यता लिन अनुरोध पनि गरेका छन।

कमेन्टहरु