अपराध, कर्णाली प्रदेश

प्रहरीले सुर्खेतमा साढे पाँच केजीभन्दा बढी अफिमसहित एकजना पक्राउ

नवलपुर टुडे
२०८२ असार २६ | मध्यान्ह ०२:०३ बजे

सुर्खेत । प्रहरीले सुर्खेतमा पाँच किलो ५४० ग्राम अफिमसहित एकजनालाई पक्राउ गरेको छ । बुधबार साँझ साढे ६ बजे भेरीगंगा नगरपालिका– १०, तालबारीमा अफिम कारोबार भइरहेको अवस्थामा जाजरकोटको जुनिचाँदे गाउँपालिका– १०, सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध अफिमको ओसारपसारमा संलग्न रहेको आशंकामा सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा निगरानी र सूचना विश्लेषण गरेपछि पाँच किलो ५४० ग्राम गिलो पदार्थ बरामद गरेको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए। बस्नेतको साथबाट अफिम तौल गर्न प्रयोग गरिने डिजिटल तराजु एक थान, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक पाँच थान र नगद चार हजार ७३० रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार जाजरकोटलगायतका पहाडी जिल्लाबाट संकलन गरिएका अफिमलाई आर्थिक लाभका लागि भारतीय सीमासम्म ओसारपसार गर्ने उद्देश्य रहेको खुल्न आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस्नेतसँग भारतीय नागरिकले अफिम खरिदका लागि बोलाएको उनी भाग्न सफल भएका छन्। बरामद अफिमको नेपालमा मूल्य करिब आठ लाख ८६ हजार चार सय रुपैयाँ र प्रतिकिलो मूल्य एक लाख ६० हजार अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने अफिमको मूल्य करोडौँ पर्ने भएकाले विदेश लैजान लागेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु