बालुवाटार प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिट खारेज


काठमाडौ । एमालेका नेता एवं प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र जसपाका नेता एवं अर्का पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाउन भन्दै दायर रिट सर्वोच्चले खारेज गरिदिएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सत्तासीन नेकपा एमाले भित्रको विवाद उत्कर्षतिर पुगिरहेको बेला सर्वोच्च अदालतले नेपालविरुद्धको मुद्दा खोतलेको हल्ला चलेको थियो ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले रिट दाबी नपुग्ने भन्दै खारेज गरिदिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराई नीतिगत निर्णयमा मात्र सामेल भएको भन्दै दुवैलाई मुद्दा नचलाएर छुटकारा दिएको थियो । यसविरुद्ध अधिवक्ता बालकृष्ण नेउपाने २९ माघ ०७६ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।
लगत्तै २ फागुन ०७६ मा यो मुद्दालाई प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अग्राधिकार दिएको थियो । आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयाँलले गत २ फागुनमा प्रमाण बुझ्ने आदेश दिएको थियो ।






















