दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै पूर्व मन्त्रीदेखि प्रदेश महामन्त्री र जिल्ला सभापतिसम्मलाई कांग्रेसले कारबाही गर्यो


काठमाडौं, असार २५ । नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको मिति यही असार ९ देखि १७ गतेसम्म बसेको बैठक निर्णय बुधबार सार्वजनिक गरिएको छ ।
स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवार वा पार्टीले समर्थन गरेकालाई पराजित असहयोग गरेको कारणले कारबाही गरेको उल्लेख गरिएको छ । कारबाही निस्कासन र निलम्बन गरी दुई प्रकृतिको गरिएको छ । ‘उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका साथ सामाजिक संजाल, अडिओरभिडिओ लगायत अनेकन हत्कण्डाहरु प्रयोग गरिएका प्रमाणहरुका आधारमा तपशील बमोजिमका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निस्काशनरनिलम्बन गर्ने निर्णय गरिएको छ,’ निर्णयमा भनिएको छ ।
कारबाही पर्नेहरुमा पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्ला सभापति, जिल्ला पूर्व सभापतिसमेत छन् । कास्कीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङको जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षको लागि निस्कासन गरिएको छ । कास्कीका पूर्व सभापति कृष्ण केसीलाई तीन महिनाका लागि निस्कासन गरिएको छ ।
























