देश

गरिब जनतालाई नि:शुल्क विद्युत् उपलब्ध गराउने : ऊर्जामन्त्री भुसाल

जगत ठाडा मगर
२०७८ साउन ११ | मध्यान्ह ०७:०४ बजे

काठमाडौ । वर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दरमा विधुत उपलब्ध गराउने नीति ल्याउने बताएकी छन्।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा भुसालले आधारभुत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने योजना अनुरुप काम भइरहेको बताएकी हुन्।

मन्त्री भुसालले विद्युत् महसुलमा पुनःविचार गर्ने नीति बनाउने पनि बताइन्। महसुल महंगो भएको बताउँदै यसलाई उपयोगको आधारमा समायोजन गर्नु पर्ने उनको धारणा थियो।

ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति आवश्यक कच्चा पदार्थ रहेको बताउँदै मन्त्री भुसालले त्यसको खपत स्वदेशमै हुनु पर्ने पनि बताइन्। उत्पादन भएको विद्युत् स्वदेशमै प्रयोग गर्न सक्ने गरी रणनीतिक योजना तयार गर्ने उनले दाबी गरिन्।

सर्वेक्षण र विस्तृत अध्ययन भएका ठूला जलाशययुक्त र अर्धजलाशयुक्त आयोजना सरकारले बनाउनु पर्नेमा जोड दिँदै मन्त्री भुसालले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानी मै संचालन भइरहेको बताइन्।

उत्पादन वृद्धि गर्ने, बिजुलीको सस्तो दर निर्धारण गर्ने, सहुलियत दिने र उपभोक्ता बढाउनेतर्फ आफू लाग्ने बताउँदै मन्त्री भुसालले स्वदेशी विद्युत्‌ले विदेशबाट आयात हुने पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने गरी नीति तयार गर्ने बताइन्।

कमेन्टहरु