देश

सुदूरपश्चिममा साउन १३ गतेदेखि २१ गतेसम्म कोरोना खोप अभियान संचालन

जगत ठाडा मगर
२०७८ साउन ११ | मध्यान्ह ०७:०४ बजे

धनगढी । सुदूरपश्चिम प्रदेशका लागि संघीय सरकारले झण्डै साढे तीन लाख डोज कोरोनाविरुद्धको खोप धनगढी पठाई सकेको छ ।

संघीय सरकारले पठाएको भेरोसेल र जोन्सन एण्ड जोन्सन कम्पनीको गरी तीन लाख ३५ हजार डोज खोप आइतबार साँझ धनगढी पुगेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ ।

स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम बिष्टले एक लाख ९८ हजारभन्दा बढी डोज भेरोसेल र एक लाख ३६ हजार डोज जोन्सन एण्ड जोन्सनको खोप धनगढी पठाइएको जानकारी दिए ।

बिष्टका अनुसार भेरोसेल खोप ५५ वर्ष र सो भन्दा माथिका उमेर समूह सबै नागरिकलाई लगाउन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने निमित्त प्रमुख बिष्टले बताए ।

यस्तै प्राध्यापक, शिक्षक र विद्यालयका कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवाका व्यक्ति र वैदेशिक रोजगारमा बिदेश व्यक्तिलाई पनि यो खोप अनिवार्य लगाइनेछ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा साउन १३ गतेदेखि १७ गतेसम्म भेरोसेल र १८ गतेदेखि २१ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप अभियान संचालन गर्ने जनाएको छ ।

कमेन्टहरु