खेलकुद, गण्डकी प्रदेश

गण्डकी प्रदेश महिला टी २० क्रिकेटको दोस्रो संस्करणको उपाधि स्याङ्जालाई 

नवलपुर टुडे
२०८२ असार २१ | मध्यान्ह ०७:०३ बजे

कास्की। पोखरामा सम्पन्न दोस्रो संस्करणको गण्डकी प्रदेश महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले हात पारेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली कास्कीलाई सात विकेटले पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो । पहिलो संस्करणको समेत उपाधि हात पारेको स्याङ्जाले लगातार दोस्रोपटक उपाधि हात पारेको हो ।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कास्की १६ ओभरमा अलआउट हुँदै जम्मा ५६ रनमा सिमित हुन पुगेको थियो । ५७ रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिङका लागि मैदान उत्रेको स्याङ्जाले १०.३ ओभरमा तीन विकेट गुमाएर ६० रन बनाएर लक्ष्य पुरा गरेको थियो । कास्कीका लागि रेखा तामाङले २८ बलमा दुई चौका र एक छक्कासहित २४ र रचना चौधरीले २५ बलमा दुई चौका प्रहार गर्दै १४ रन बनाउँदा स्याङ्जाका लागि सिमाना केसीले नट आउट रहदै २२ बलमा एक चौका प्रहार गर्दै १७, कुशुम गोदारले १३ बलमा एक चौका प्रहार गर्दै ११ रन बनाउँदा दुबै टोलीका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन ।

खेलमा स्याङ्जाकी अपेक्षा बुढाथोकीले तीन ओभर खेल्दै ६ रन खर्चेर सर्वाधिक चार विकेट हात पार्दा वुमन अफ दी म्याच सिमाना केसीले चार ओभर खेल्दै १३ रन खर्चेर तीन विकेट हात पारिन् । कास्कीकी रचना चौधरी र यशोदा भुजेलले समान १÷१ विकेट हात पारे ।प्रतियोगितामा स्याङ्जाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भइन् । कास्कीका सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुन मगर उदियमान खेलाडी घोषित भइन् । 

चार दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता रहेको थियो । उपाधिसँगै स्याङ्जाले एक लाख, उपविजेता कास्कीले ५० हजार जगद सगै शिल्ड र मेडल पुरस्कार पाए ।

 

 

 

 

कमेन्टहरु