देश

कपिलवस्तुबाट सम्पर्क बिहिन भनिएकी जसपा सांसद सम्पर्कमा

जगत ठाडा मगर
२०७८ साउन ११ | मध्यान्ह १२:०४ बजे

रुपन्देही । आइतबार बिहानबाट कपिलवस्तुबाट सम्पर्कविहीन भएकी भनिएकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य पुुर्मती ढेंगा आज पार्टीको सम्पर्कमा आएकी छन् । उनी उपेन्द्र यादव पक्षीय सांसद हुन् ।

जसपाले सांसद ढेंगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । अहिले भने उनी आफूहरुको सम्पर्कमा आएको प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

यसैगरी इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद सम्पर्कविहीन भएको सूचनापछि खोजी गरिरहेका बेला आज सम्पर्क आएको पार्टीका नेताहरुले जानकारी दिएको बताए । उनले भने, ‘हामीलाई हिजो जसले हराउनु भयो भन्दै सूचना दिनु भएको थियो आज उहाँले नै सम्पर्क आउनु भयो भन्नु भएको छ ।’

आइतबार बिहान सांसद ढेंगा कपिलबस्तुमा एक होटलमा केही सांसदहरुसँग बैठक बसिरहेको बेला हिँडेकी थिइन् । त्यसपछि उनी एकाएक सम्पर्क विहीन भएकी सांसद सहर्षराम यादवले बताए । तर आज प्रदेश अध्यक्ष अशोक यादवसँग फोनमा कुराकानी भएको उनको भनाइ छ ।

उनी अहिले रुपन्देहीको तिलोत्तमा आफै घरमा रहेको अध्यक्ष यादवले बताए । उनले भने, ‘मैले फोन गर्दा तिलोत्तमा घरमा छु भन्नु भएको म त्यहीँ जाँदै छु ।’ लुम्बिनी प्रदेशमा सरकार गिराउने र टिकाउने खेल चलिरहेको बेला जसपाका केही नेताहरुले सत्तापक्ष सम्पर्कबिहीन बनाउने खेलमा लागेको आशंका व्यक्त गरेका थिए । पाल्पाकी ढेगा जसपाकी समानुुपातिक सांसद हुुन् ।

कमेन्टहरु