घटना

गुल्मीमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

इन्द्रजित नेपाली
२०८२ असार १४ | मध्यान्ह ०३:०३ बजे

गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्ला विद्युत् पोलमा चढेर मर्मत गरिरहेका एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय ४० वर्षीय झबिन्द्र घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगा बहादुर सारुले जानकारी दिए।

प्रहरीका अनुसार घिमिरे हाइटेन्सन लाइन अन्तर्गतको फलामको पोलमा चढेर मर्मतको काम गरिरहेका बेला करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो। तर, अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि मर्भुङस्थित प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दीपक शाहको नेतृत्वमा टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु