मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

दलित समुदायका लक्षित कार्यक्रम समावेश गर्न पालिकासंग माग

उमेश रोकाया
२०८२ असार ९ | बिहान ०४:०३ बजे

बाजुरा , असार ९ । स्वामीकार्तिक खापर गाउँपालिकामा दलित समुदायका लक्षित कार्यक्रम र बजेट समावेशका लागि माग गरिएको छ । स्वामीकार्तिक गाउँपालिका भित्र बसोबास गर्ने दलित सम्पूर्ण समुदायका नागरिकहरू सामाजिक, शैक्षिक र आर्थिक रुपमा अझैं पछि परेको अवस्था विद्यमान छ ।

समतामूलक विकास र दलित समुदायको सशक्तीकरणका लागि लक्षित नीति, कार्यक्रम र बजेट समावेश गरी दलित समूदायका हक हितका लागि अब आउने निति तथा कार्यक्रममा समावेश गर्नका लागि माग गरिएको दलितका लागि दलित अभियान बाजुरा संयोजक दिपक कडाराले बताउनुभयो ।

दलित समुदायका युवाहरूका लागि सीपमूलक तालिम ड्राइभिङ, टेक्निकल सीप, सिलाइकटाइ, हस्तकला, कृषि तालिम सञ्चालन, दलित समुदायका विद्यार्थीहरूका लागि लक्षित छात्रवृत्ति निःशुल्क शैक्षिक सामग्री र कक्षा सञ्चालन गरी समावेशीतालाई सुनिश्चित गर्न र दलित समुदायका लागि स्वास्थ्य, पोषण र सरसफाइ सम्बन्धी सचेतनामूलक अभियानहरु सञ्चालन माग समेत राखिएको छ ।

दलित समुदायका सांस्कृतिक पहिचान संरक्षण र सम्बर्द्धनका लागि विशेष कार्यक्रम तथा बजेट व्यवस्था र जातीय विभेद तथा छुवाछूत बिरुद्द जनचेतना कार्यक्रम हरेक वर्ष प्रत्येक वडा टोलमा मनाउने नीति समावेश गरियोस । आर्थिक हिसाबमा पछि परेका र दीर्घ रोगी लाई अनिवार्य रुपमा निःशुल्क उपचार गर्न, दलित समुदायका बालबालिकाले आर्थिक अवस्था कमजोर भयको प्रमाणित भएमा निजलाई नि:शुल्क सहयोग रहने गरी प्राविधिक धारमा उसको चाहना अनुसार पालिकाको निर्णय अनुसार पढाइमा लगानी गर्ने र दलित लक्षित बजेट कूल बजेटको कम्तिमा ५ प्रतिशत तोक्ने नीति अवलम्बन गरियोस् ।

त्यस्तै दलित लक्षित बजेट दलित समुदायसम्म पारदर्शी र जवाफदेही तवरले पुर्याउन छुट्टै संयन्त्र स्थापना र दलित समुदायका प्रतिनिधिहरूको समावेशीता सहित नीति र बजेट निर्माण गर्ने प्रक्रिया अवलम्बन गरियोस् । स्वामीकार्तिक गाउँपालिकाले दलित समुदायका समस्या र आवश्यकतालाई गम्भीरता साथ लिएर लक्षित नीति तथा कार्यक्रम संगै बजेट समावेश गरी समतामूलक र समावेशी विकासको स्थापित गर्ने गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायालाई मागपत्र बुझाएको दलितका लागि दलित अभियान बाजुराले जनाएको छ ।

कमेन्टहरु