पर्साका बहुदरमाई नगरपालिकाका प्रशासकीय अधिकृत श्रीवास्तव र नायब सुब्बा अख्तियारको नियन्त्रणमा


पर्सा । पर्साको बहुदरमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
पोखरिया नगरपालिकामा कार्यरत रहँदाको भ्रष्टाचारसम्बन्धि उजुरीको अनुसन्धानका लागि शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका- १३ प्रतिमा चोक र साहलाई वीरगञ्ज महानगरपालिका- ३ प्रगतिनगरबाट पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।
उनीहरुको चार वटा मोबाइलसमेत आयोगले जफत गरेको छ । विभिन्न योजनाहरुको स्वीकृती र कर्मचारी नियुक्तिका विषयका अनियमितताको विषयमा छानविन गर्न उनीहरुलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता थपलियाले बताए। श्रीवास्तव यसअघि पोखरियामा निमित्त प्रशासकीय अधिकृत थिए।
त्यस्तै, हाल पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र वडा नम्बर २ का सचिव ओम प्रकाश चौरसियाको पनि मोबाइल आयोगले जफत गरेको छ ।























