मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

छाउगोठ छोडेर घरमा बस्दै हिमालीका महिला

उमेश रोकाया
२०८२ असार ४ | बिहान ०९:०३ बजे

बाजुरा , असार ४ । बाजुराको हिमाली गाउँपालिकाका अधिकाशं महिलाहरु यती बेला छाउगोठ छोडेर धमाधम घरमा बस्न थालेका छन् । समाजमा कुप्रथाको रुपमा रहेको यो छाउप्रथाले यहाँका महिलाहरुलाई निकै सास्ती दिदै आएको भन्दै उनीहरु यती बेला छाउगोठमा छोडेर घरको कोठामा बस्न थालेका हुन् ।

महिलाहरुका लागि यो छाउप्रथा ज्यानमारा भएकोले पछिल्लो सयम आफु महिनावारी हुँदा पनि घरकै कोठामा बास बस्ने गरेको हिमाली गाउँपालिका –६ जन्मा पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ पहिला आफुलाई यो छाउप्रथाको बारेमा केही कुरा जानकारी थिएन । अहिले छाउप्रथा कुप्रथा हो भन्ने कुरा प्रष्ट थाहा पाएपछि आफु महिनावारी भएको बेलामा घरकै माथिल्लो तलामा बास बस्न थालेकी छु । ”

छाउप्रथालाई मैले मात्र हटाएकी छैन् । मेरो घरमा सासु ससुराले समेत छाउप्रथा मान्दैनन् । उहाँहरुले नै मलाई अहिले महिनावारी भएको बेलामा घरमै सुत्नु भन्ने गरेको पाण्डेले बताउनुभयो ।

छाउप्रथाका कारण आफुले लामो समय सम्म धेरै दुख पाएको हुँदा मेरो बुहारीले पनि यस्तो दुख नपाउँ भन्ने उद्देश्यले मैले अहिले मेरो बुहारीलाई महिनावारी हुँदा घरकै माथिल्लो तलामा सुताउँने गरेकी जन्मा पाण्डेकी सासु देव पाण्डेले बताउनुभयो ।

उहाँले भननुभयो, “ छाउप्रथाका कारण यहाँका धेरै महिला दिदिबहिनीहरुले दुख पाउँनु भयो । कयौ महिलाहरु छाउगोठमा बलात्कृत हुनुभयो । छाउप्रथाको कारण मेरो कुनै छोरी बुहारीले त्यस्तो दुख कष्ट नहोस भन्दै मैले अहिले मेरो बुहारी र छोरी महिनावारी भएको बेलामा पनि घरको माथिल्लो तलामा सुताउँने गरेकी छु ।”

महिनावारी भएकालाई दुध दही दिएपछि गाई भैसी बिरामी हुन्छन् भन्थ्ये । मैले त मेरो बुहारी छोरी महिनावारी भएका बेलामा पनि दुघ दही महि दिने गरेकी छु । अहिले सम्म मेरो भैसीलाई केही भएको छैन् । महिनावारी भएको बेलाम घरको कोठामा बास बस्न थालेपछि अहिले बुहारीलाई छोरीलाई समेत आराम भएको पाण्डेले बताउनुभयो ।

जिल्लाका अन्य ठाउँमा भने छाउप्रथा कायमै रहँदै आएको छ । यहाँ २०८१ गत माघ १४ गते बुढीगङ्गा नगरपालिका –८ रिठा प्रहरी चौकीले नुवाकोट , सिगाडा , भण्डारगाउँ , झारगाउँ , बदेडा , तिमाडा र सेलापाखा लगायतको छाउगोठ अनुगमन गरेको थियो ।

प्रहरीले यहाँका गाउँ बस्तीमा छाउगोठको अवस्था के छ भनेर अनुगमन गर्दा त्यहाँ २९ वटा छाउगोठ देखिएका छन् । ती छाउगोठ अहिले सम्म भत्किएका छैन् ।

२०७५ पुस २५ गते बुढीनन्दा नगरपालिकाको –९ पाण्डुुसैनमा छाउगोठमा सुतेको बेला आगलागि हुँदा ३५ वर्षीय आमा अम्बा बोहरा नौ वर्षका छोरा सुरेश बोहरा र सात वर्षका छोरा रमित बोहरा गरी तीन जनाको ज्यान गएको थियो । त्यसपछि बाजुरामा छाउप्रथा कुप्रथा हो भन्दै विभिन्न स्थानीय निकायहरुले छाउप्रथा उत्मुलनका विभिन्न कार्यक्रम सञ्चालन सुरु गरेका थिए । तर पनि अहिले सम्म यहाँका हिमाली गाउँपालिका बाहेक अन्य पालिकामा भने छाउँप्रथा हटेको छैन् । महिनावारी भएका बेलामा यहाँका महिला अहिले पनि छाउगोठमा बास बस्ने गरेका छन् ।
छाउगोठ भत्काउने अभियानले यो भन्दा पहिला बाजुरामा झण्डै ५११ वटा छाउँगोठ समेत भत्काएको थियो ।

अहिले त्यो अभियाना सुस्ताएसँगै अहिले यहाँका विभिन्न गाउँ बस्तीमा छाउँगोठ पुर्न निर्माण हुन थालेका छन् । पहिला यहाँका महिला महिनावारी हुँदा छाउगोठमा बास बस्ने गथ्र्ये । उनीहरुलाई छाउगोठ बस्न नदिएर घरमै कोठामा बास बसाल्ने गरी विभिन्न जनचेता मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएपछि अहिले उनीहरु महिनावारी भएको बेलामा पनि आफ्नो घरकै कोठामा बस्ने गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।

कमेन्टहरु