भरतपुरको विशालचोकमा चितवनमा नै पहिलो पटक खुल्यो आर्चरी सेन्टर


भरतपुर । चितवनमा नै पहिलो पटक आर्चरी सेन्टर सञ्चालनमा आएको छ । भरतपुर ११ विशालचोकमा आजबाट चितवन आर्चरी सञ्चालनमा आएको हो ।
उक्त आर्चरीको चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे । सो क्रममा कार्कीले ७० हजार वर्ष पुरानो ईतिहास बोकेको आर्चरी चितवनमा भित्रिनु सुखद भएको बताए । आर्चरी मानव विकासको ईतिहाससँग जोडिएको खेल भएको उनको भनाइ थियो ।

नेपालमा २०४४ देखि नै आर्चरी खेलको सुरुवात भए पनि पछिल्लो ७-८ वर्षयता मात्रै यस खेलले गति लिन थालेको उनले बताए । यस आर्चरी सेन्टरले यहाँका युवाहरुलाई पनि यस खेलप्रति आकर्षण बढाउन मद्त मिल्ने उनको भनाइ थियो ।
चितवन आर्चरीका सञ्चालक निहाल जोशीले चितवनमा पहिलो पटक आर्चरी भित्र्याइएको बताए । बालबालिका र युवाहरुलाई खेलप्रति आकर्षित गर्न आर्चरी सेन्टर सुरु गरिएको उनले बताए । बालबालिका, युवादेखि सबै उमेर समूहले यहाँ आएर आर्चरी खेल्न सक्ने उनको भनाइ थियो ।

आर्चरीका लागि समय अनुसारको शुल्क निर्धारणा गरिएको छ । एक घण्टाको लागि दैनिक ५ सय तथा आधा घण्टाका लागि दैनिक ३ सय रुपैयाँ लाग्नेछ । मासिक प्याकेज लिनेहरुका लागि एक घण्टाको मासिक ९ हजार तथा आधा घण्टाको मासिक ५ हजार लाग्ने सञ्चालक जोशीले बताए । इच्छुक खेलाडीहरुका लागि आवश्यकता अनुसार प्रशिक्षक ल्याएर अभ्यास गराइने पनि उनले जानकारी दिए ।
खेलाडीहरुलाई व्यवसायिक रुपमा अघि बढ्न पनि सहयोग गर्ने उनको भनाइ थियो । यस्तै खेलाडीहरुका लागि समय समयमा प्रतियोगिता आयोजना गर्ने पनि उनले जानकारी दिए ।























