अपराध

विवाह समारोहमा हातहतियार देखाएर उत्पात मच्चाउने रमेश मुखियाको खोजीमा प्रहरी

प्रमोद सहनी
२०८२ जेष्ठ २५ | बिहान ०६:०२ बजे

रौतहट । रौतहट जिल्लामा आफैलाई पत्रकारको नाममा परिचय दिँदै हिँड्ने माधव नारायण नगरपालिका–४, विष्णुपुर्वा मानपुरका रमेश कुमार मुखियाले एक विवाह समारोहमा हातहतियार देखाएर आतंक मच्चाएपछि जिल्लाभरि सनसनी फैलिएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार, रमेश मुखियाले विवाहस्थलको मञ्चमा राइफलजस्तो देखिने हातहतियार बोकेर भिडियो खिच्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनको यस हर्कतले विवाहमा सहभागी पाहुना र स्थानीय जनसमुदायमा भय र त्रासको वातावरण सिर्जना गरेको छ।

नेपालको संविधान, २०७२ को धारा १७ (१) ले प्रत्येक व्यक्तिलाई व्यक्तिगत स्वतन्त्रता र सम्मानपूर्वक बाँच्ने हक सुनिश्चित गरेको छ भने धारा २२ (१) ले हिंसाबाट सुरक्षित रहने हक प्रत्याभूत गरेको छ। तर, रमेश मुखियाले विवाह समारोहमा हातहतियार देखाएर डरत्रास सिर्जना गर्नुले यी संवैधानिक हकहरूको प्रत्यक्ष उल्लंघन गरेको देखिन्छ।

मुलुकी अपराध संहिता, २०७४ को धारा १२१ ले सार्वजनिक स्थलमा भय वा आतंक उत्पन्न हुने गरी हातहतियार प्रदर्शन गर्न नपाइने व्यवस्था गरेको छ भने धारा १२२ (१) ले यस्तो कार्य गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको प्रावधान गरेको छ। साथै, हतियार नियन्त्रण ऐन, २०१९ अनुसार अवैध रूपमा हातहतियार बोकेर हिँड्न वा सार्वजनिक रूपमा प्रदर्शन गर्न पाइँदैन। ऐनको धारा १५ अनुसार यस्तो कार्य गरेमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ।

त्यस्तै, रमेश मुखियाले हातहतियार देखाएर सामाजिक सञ्जालमा फोटो वा भिडियो पोस्ट गरेको घटनाले मुलुकी अपराध संहिता, २०७४ को धारा १२३ (३) अनुसार थप अपराध मानिन्छ, जसका लागि तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको प्रावधान छ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षकका अनुसार, “सार्वजनिक स्थलमा हातहतियार देखाएर सर्वसाधारणलाई त्रसित तुल्याउने कार्य गैरकानुनी मात्र नभई शान्ति सुरक्षामाथि प्रत्यक्ष प्रहार हो। यस विषयमा अनुसन्धान तीव्र पारिएको छ र रमेश मुखियाको खोजी कार्य अघि बढाइएको छ।”

प्रहरी स्रोतका अनुसार रमेश मुखियाले पत्रकारको पहिचान दुरुपयोग गर्दै व्यक्तिगत प्रभाव जमाउन हातहतियार प्रदर्शन गरेको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनास्थल वरपरका मानिसहरूसँग बयान संकलन गर्दै उक्त हातहतियार कहाँबाट कसरी ल्याइएको हो भन्नेबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ।

यस घटनाले पत्रकार आचारसंहितामाथि पनि गम्भीर प्रश्न उठाएको छ। नेपाल पत्रकार महासंघका एक पदाधिकारीले भने, “पत्रकारिताको नाममा हातहतियार देखाएर आतंक मच्चाउनु अत्यन्त लज्जास्पद हो। यस्तो कार्यले पत्रकार पेशामाथि नै प्रश्न उठाउँछ। प्रशासनले यस्ता घटना तत्काल नियन्त्रणमा लिनुपर्छ।”

यसैबीच, मल्लाह (निषाद) समुदायका एक पदाधिकारीले बताएअनुसार रमेश मुखिया नेपाल निषाद परिषद्का अगुवा रहेका छन् भने उनी स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट)का रूपमा समेत अस्पतालमा कार्यरत छन्। “उनको यस्तो गतिविधिले स्वास्थ्यकर्मीको छविमा समेत आँच पुर्याउँछ,” ती पदाधिकारीले बताए।

स्थानीयवासीहरूले विवाह समारोहजस्तो पवित्र वातावरणमा हातहतियार देखाएर त्रास सिर्जना गर्ने यस्ता कार्य तत्काल नियन्त्रण गर्न प्रशासनसँग माग गरेका छन्। जिल्ला प्रहरी कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान तीव्र पारेको र दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने जनाएको छ।

कमेन्टहरु