चितवनको नयाँ मेडिकल कलेजमा मुटुको सर्जरी पुन : शुरु


चितवन । चितवनको चितवन मेडिकल कलेजमा विगत पाँच वर्षदेखि रोकिएको कार्डियो थोरासिस् भास्कुलर सर्जरी पुनः शुरु भएको छ । प्रा.डा. भगवान कोइरालाको टिमले यसअघि कलेजमा ओपन हर्ट सर्जरी गरे पनि त्यसले निरन्तरता नपाउँदा सेवा रोकिएको थियो । तर, कलेजको कार्डियो थोरासिस भास्कुलर सर्जरी विभागमा प्रा. डा. अर्जुन आचार्य र डा. अल्का सिंहसहितको टोली आएपछि रोकिएको सेवालाई निरन्तरता दिइएको कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले जानकारी दिए ।
डा. आचार्य नेतृत्वको टोलीले केहीदिन अघि एक २४ वर्षीया युवतीको ओपन हर्ट सर्जरी गरेको हो । मुटुका चार कोठामध्ये माथिको दुई कोठाको बीचमा रहेको प्वाल शल्यक्रिया नगरी टाल्न नसकिने भएकाले युवतीको शल्यक्रिया गरिएको डा.आचार्यले बताए । ‘अप्रेशन नगरिकन बन्द गर्न नसक्ने ठूलो प्वाल थियो, छाती चिरेर अप्रेशन गर्दा खत (दाग) बस्ने भएकोले दाहिने तर्फको छातीमा सानो प्वाल बनाएर टाल्यौं’ डा. आचार्यले भने, ‘करिब तीन घण्टामा सबै काम सकियो ।’
अप्रेशनपछि ती युवतीको अवस्था सामान्य रहेको डा. आचार्यले बताए । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण र पर्याप्त जनशक्ति भएकाले अबदेखि यो सेवा नियमित दिन सकिने डा. आचार्यको दाबी छ । कलेजमा अहिले दुई जना कार्डियाक सर्जन र कार्डियाकको तालिम लिएका नर्सहरु छन् । केहीलाई तालिम दिएर दक्ष बनाउने काम जारी छ ।
विभागको नेतृत्व प्रा. डा. अनिल आचार्यले गरेका छन् । उनले भने, ‘हामी यहाँ गंगालालमा हुने खर्चमा मुटुका सबैखाले शल्यक्रिया गर्न सक्छौं ।’ कलेजमा स्थायी रूपमा नै कार्डियो थोरासिस् भास्कुलर सर्जरी विभागमा चिकित्सकसहितको टिम राखेर सेवा थालिएकाले अब भने बीचमा नरोकिने कलेजका प्रवन्ध निर्देशक डा. न्यौपानेले बताए । ‘यहीं नै बसेर काम शुरु भएपछि आइसियू केयर गर्ने लगायतको जनशक्तिको विकास हुन्छ,’ डा. न्यौपानेले भने, ‘मुट सम्वन्धी सबै प्रकारका सेवा दिने गरी अगाडि बढेका छौं ।’
डा. आचार्यको टिमले मुटुको वाइपास सर्जरी, मुटुको प्वाल टाल्ने, भल्ब फेर्ने तथा मर्मत गर्ने, जन्मजात भएका मुटुरोग, मुटु रोगका शल्यक्रिया, छाती, फोक्सोको अप्रेशनसमेत गर्ने कलेजका प्रवन्ध निर्देशक डा. न्यौपानेले बताए । कार्डियाक सर्जन प्रा.डा. आचार्यले चितवनमा बिरामीहरुको पहुँच र संख्या पनि उल्लेख रहने भएकोले सेवाले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
कलेजले विगत आठ वर्षदेखि कार्डियोलोजी सेवा दिँदै आएको छ । कार्डियोलोजी सेवा लिन आउने एक सय जना बिरामीमध्ये धेरैलाई औषधिले ठिक भए पनि करिब ४/५ जनामा अप्रेशन नै गर्नुपर्ने हुन्छ । ‘विना कार्डियोलोजी त हामी केही गर्न सक्दैनौं, बिरामीको स्क्रिनिङ गरेर रोगको अवस्था पत्ता लगाउने, औषधिहरु दिने गर्नुहुन्छ, अप्रेसन गर्नुपर्ने बिरामीहरु मात्रै हामी कहाँ पठाउनुहुन्छ’ डा. आचार्यले भने, ‘कार्डियोलोजी र कार्डियाक सर्जरी एक अर्काका परिपूरक हुन् ।’
कलेजमा प्रा.डा. श्यामराज रेग्मी नेतृत्वको कार्डियोलोजी टिमले हालसम्म करिब एक हजार मुटुरोगीमा १७ सय ‘स्टेन’ राखिसकेको कलेजले जनाएको छ । एउटा नसामा दुई-तीनवटा तथा कसैकोमा तीनवटा नसामा अलग-अलग स्टेन पनि राख्ने गरिन्छ । बिरामीको मुटुको नशाको ब्लकेज हेरेर तीन वटासम्म नशा खोल्ने गरिएको डा. रेग्मीले जानकारी दिए । तर, तीनवटा नशा ब्लक हुँदा ओपन हार्ट सर्जरी गर्ने गरिन्छ । ‘दुईभन्दा बढी नशामा ब्लक भएमा, एकै नशामा लामो ब्लक भएमा सर्जरी आवश्यक छ, प्वालहरू टाल्न ओपन हर्ट सर्जरीमा सहज हुन्छ,’ डा. रेग्मी भन्छन् ‘कतिपय केस यति अˆठ्यारो हुन्छ कि, ओपन हर्ट सर्जरी गर्दा र एन्जिओप्लाष्टी गरेर पनि बचाउन सकिन्न, एक सयमा एक-दुई जनामा त्यस्तो पनि हुन्छ ।’
डा. आचार्यले एक/दुई वटा रगतको नली बन्द हुँदा एन्जियोप्लाष्टि गर्न सकिए पनि तीनवटा भल्ब बन्द भएका र सुगरका बिरामीमा बाइपास सर्जरी राम्रो मानिने बताए ।























