राजनीति

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कानुन व्यवसायीसँग छलफलमा

नवलपुर टुडे
२०८२ जेष्ठ २२ | मध्यान्ह ०६:०२ बजे

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौँ आइपुग्ने वित्तिकै कानुन व्यवसायीसँग छलफल गरेका छन्। नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

मुद्दा दायर हुँदा नेपाल गृह जिल्ला रौतहटमा थिए। मुद्दा दायर भएको थाहा पाएपछि काठमाडौँ ओर्लिएका नेपालले आउने वित्तिकै कानुन व्यवसायीहरुसँग छलफल गरेका हुन् । घरमा केहीबेर बसेपछि नेपाल आलोकनगरस्थित पार्टी कार्यालयमा गएका थिए। त्यहाँ उनको पर्खाइमा नेता तथा कार्यकर्ताहरुसँग केहीबेर कुराकानी गरेपछि उनले वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र गोविन्द वन्दिलाई बोलाएर कुराकानी गरेका हुन्।

पार्टी कार्यालय स्रोतका अनुसार नेपालले आफूविरुद्ध मुद्दा लागेको अवस्थामा अब कसरी अघि बढ्न सकिन्छ भनेर थापा र वन्दिसँग जिज्ञासा राखेका थिए। उनीहरुबीच अब कसरी कानुनी प्रक्रियामा जाने भन्नेबारे छलफल भएको बुझिएको छ। नेता कार्यकर्ताहरुसँगको कुराकानीमा नेपालले आफूले कुनै गल्ती नगरेकाले अब कानुनी हिसाबले नै प्रतिवाद गर्ने बताए।

कमेन्टहरु