यातायात

भोलिदेखि देशभर सार्वजनिक यातायात अनिश्चितकालीन ठप्प पार्ने व्यवसायीको घोषणा

नवलपुर टुडे
२०८२ जेष्ठ १८ | मध्यान्ह ०७:०२ बजे

काठमाडौं । यातायात व्यवसायीले भोलि (सोमबार) देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार मजदुर र यातायात गरी नौ वटा संगठनको संयुक्त आयोजनामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको हो ।

विभिन्न ७ वटा मुख्य माग राखेर यातायात व्यवसायी र मजदुर संगठनहरू आन्दोलनमा उत्रिएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।

संघीय ऐनसँग बाझिने गरी प्रदेशहरूले ऐन ल्याउन लागेको र विशेषगरी गण्डकी प्रदेशले राजतन्त्रमा प्रकाशन गरी निजी सवारी साधन (रातो प्लेट) लाई भाडाको (कालो प्लेट) सरह सञ्चालन गर्न लागेको, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारले अनिवार्य लागू नगरेका लगायतका माग गरेर आन्दोलन गर्न लागिएको जानकारी सिटौलाले दिए ।

‘सरकारले हाम्रा मागहरू नसुनेकै कारणले हामीले देशव्यापी अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हौं, तर पनि हामी वार्ताका लागि तयार छौं, वार्ताको ढोका खुला छ,’ उनले भने ।
l(1)Yaatayat 7 BUidrY9AVN

कमेन्टहरु