श्रोत नखुलेको भारतीय रुपियाँ र अमेरिकी डलरसहित दुई जना भारतीय पक्राउ


बिराटनगर । अमेरिकी डलर र भारतीय नोटसहित विराटनगरबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। विराटगनर १७ स्थित मटेरुवा चोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
केही अमेरिकी डलर तथा केही भारतीय नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले भारत उत्तर प्रदेशस्थित लखनउका ३४ वर्षे अतुलकुमार र ३५ वर्षे सन्दीप सिंह रोयलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट २ लाख ८ हजार ५०० रुपैया भारतीय मुद्रा र २ हजार १ सय १४ अमेरिकी डलर बरामद गरेको मोरङ प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाएको मोरङ प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो १ बजे भारतबाट नेपालतर्फ आउदै गरेको बेला चेकजाँच गर्दा अतुलको साथबाट ५०० दरका भारतीय नोट २०० थान र रोयको साथबाट ५०० को २१७ थान, अमेरिकी डलर १०० को २१ थान, २० को ५ थान, १० को एक थान र एकको चार थान प्रहरीले बरामद गरेको प्रहरीको भनाइ छ।






















