गण्डकी प्रदेश, धर्म–संस्कृति/रीतिथिति

मुस्ताङमा ऐतिहासिक तिजी पर्व सुरु, उपल्लो मुस्ताङको सांस्कृतिक धरोहर

नवलपुर टुडे
२०८२ जेष्ठ ११ | बिहान ०६:०२ बजे

मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा शनिबारदेखि सदियौँ वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रूपमा सुरु भएको छ। उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबैभन्दा महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्डको संयुक्त आर्थिक सहयोग तथा लोमान्थाङस्थित छोदे गुम्बाको व्यवस्थापनमा लोमान्थाङस्थित मुस्ताङ सांस्कृतिक राजाको दरबार परिसरमा यो पर्व शुभारम्भ गरिएको हो। तिजीलाई तिब्बती भाषामा ‘तेन्जी’ पर्व पनि भनिन्छ।

पर्वको महत्त्व र प्रचलन

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार, तिजी पर्व तीन दिनसम्म मनाइन्छ। यो एक किसिमको धार्मिक पूजा हो, जसलाई लोछोदिन समुदायले पर्वका रूपमा विस्तार गरेका हुन्। उपल्लो मुस्ताङको लोछोदिन समुदायलाई कसैबाट आक्रमण नहोस्, शान्ति स्थापना होस् र सबैको भलो होस् भन्ने उद्देश्यले तिजी पूजाको रूपमा यो पर्व चल्दै आइरहेको छ।

पर्वका बेला उपल्लो मुस्ताङका स्थानीय नागरिकले आफ्नो आर्थिक हैसियतअनुसार खानपान गर्ने, नयाँ मौलिक वेशभूषा र गरगहना लगाउने गर्छन्। तिजी पर्व अवधिभर गुम्बा र छोर्तेनमा गएर सामूहिक पूजाआजा गर्ने धार्मिक चलन छ। उपल्लो मुस्ताङअन्तर्गत साविकका सातवटै गाविसका मानिस तिजी पर्वमा उपस्थित भएर शान्ति पूजापाठमा सरिक हुनुपर्ने प्रचलन छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले तिजीलाई उपल्लो मुस्ताङको सांस्कृतिक धरोहरका रूपमा रहेको बताए। यो पर्वले यस क्षेत्रको समृद्धि, विकास र शान्ति स्थापना गर्न तथा नागरिकलाई भावनात्मक रूपमा एकताबद्ध गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ।

ऐतिहासिक पृष्ठभूमि र धार्मिक विधि

लोमान्थाङस्थित छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले तिजी पर्व आठौँ शताब्दीदेखि धर्मगुरु पद्मसम्भवको पालादेखि सुरु भएको र पन्ध्रौँ शताब्दीमा मुस्ताङी दोस्रो राजाका छोरा आङ्जेन साङ्वोको पालादेखि उपल्लो मुस्ताङमा चलेको बताए। सन् १९६३ देखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो पर्व विश्वव्यापी कोरोना संक्रमणका कारण सन् २०२० देखि तीन वर्ष रोकिएको थियो।

तिजी पर्वको तीन दिनसम्म बिहान ६ बजेदेखि १२ बजेसम्म गुम्बामा लामाहरूद्वारा बज्रकिलया देवता र महाकाल देवताको पूजापाठ गरिन्छ। यसरी पूजा गर्दा उपल्लो मुस्ताङलाई कसैले कुदृष्टि नलगाओस्, विश्व भातृत्व र शान्ति कायम होस्, रोगव्याधी र अनिष्ट नहोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपद्को सामना गर्न नपरोस्, र सबै लोछोदिन समुदायमा सुख, शान्ति समृद्धि छाओस् भन्ने कामना गरिन्छ।

पूजापाठपछि मुस्ताङी सांस्कृतिक राजाको दरबार परिसर अगाडि छोदे गुम्बाका लामाहरूले बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्छन्। यसमा ५४ प्रकारका नृत्यहरू मुकुट पहिरिएर प्रदर्शन गरिन्छ। पर्वको अन्तिम दिन पूजामा राखिएको तोर्म गाउँबाहिर विसर्जन गरेपछि तिजी पर्व समापन हुन्छ।

पर्व सुरु हुँदा मुस्ताङी सांस्कृतिक राजाको दरबारमा रहेको दुई तला अग्लो करिब ३० फुट लामो गुरु पद्मसम्भवको लुङ्ता बाहिर निकालेर नृत्य अभ्यास गर्ने स्थान नजिकै झुन्ड्याउने गरिन्छ, जुन वर्षको एक पटक मात्र तिजी पर्वमा सार्वजनिक गरिन्छ।

विदेशी पर्यटकको आकर्षण

दुरुस्तै तिब्बती कलासंस्कृतिको झल्को दिने यस तिजी पर्वलाई विदेशी पर्यटकहरूले निकै चासोका साथ अवलोकन गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए। यो पर्व विदेशी पर्यटकका लागि धार्मिक तथा सांस्कृतिक सभ्यता र मौलिकतालाई फोटो र भिडियोमा कैद गर्ने अवसर पनि बन्ने गरेको छ। तिजी पर्वको अवलोकनका लागि आएका विदेशी पर्यटकको उपस्थितिले लोमान्थाङमा पर्यटकीय रौनक बढेको पौडेलले बताए।

एक्याप लोमान्थाङका अनुसार, तिजी पर्वको छेको पारेर यसै हप्ता मात्रै ५०२ विदेशी पर्यटक उपल्लो मुस्ताङ भित्रिएका छन्। सन् २०२५ को मे १ देखि मे २३ तारिखसम्ममा ७५५ विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् भने सन् २०२५ को जनवरीदेखि मे २३ सम्ममा कुल १६४७ विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्।

कमेन्टहरु