देश

लागुऔषध कोकिनका ग्राहक खोज्दै होटल पुगेका प्रहरी, आफ्नै प्रहरी जवानसहित चार जना कारोबारी पक्राउ

जगत ठाडा मगर
२०७८ साउन ९ | मध्यान्ह ०१:०४ बजे

काठमाडौ । लागुऔषध कोकिनका कारोबारी खोज्दै जाँदा प्रहरीले आफ्नै संगठनका सदस्यलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौं-१६ पकनाजोलस्थित एक होटलबाट शुक्रबार चार जनालाई समात्दा प्रहरी जवान फेला परेका हुन्।

ब्युरोका अनुसार पक्राउ पर्नेमा प्रहरी जवान एकराज गुरुङ रहेका छन् । गोरखा आरुघाट गाउँपालिका-६ घर ३२ वर्षीय जवान गुरुङ काठमाडौं टोखा नगरपालिका-११ मा बस्दै आएका थिए। उनको दरबन्दी भने हुम्ला जिल्लामा थियो। उनी कार्यालयमा विदा लिएर हिँडेका थिए।

लागुऔषध कारोबारीहरूसँग रहेका जवान गुरुङसहित अन्य चार जना पक्राउ परेका व्यक्ति पनि गोरखाकै छन्। उनीहरूबीच चिना परिचय रहेको पत्ता लागेको छ । ब्युरोका अनुसार उनीहरूको साथबाट पाँच सय ग्राम कोकिन बरामद भएको छ। उक्त कोकिनको बजार मूल्य करिब डेढ करोड रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीषक हृदय थापाले जानकारी दिए।

पक्राउ पर्नेमा गोरखा-६ का २९ वर्षीय मुकुन्द खड्का, गोरखा गण्डकी गाउँपालिका-४ फुजेलका ३१ वर्षीय मन गुरुङ, गोरखा-८ का ४० वर्षीय रेशमबहादुर राना छन्। थापाका अनुसार लामो समयको निगरानीपछि उनीहरूलाई पक्राउ गरिएको थियो। ‘लागुऔषधको कारोबार भइरहेको छ भन्ने थाहा पाएपछि हाम्रो टोली गएको थियो,’ थापाले भने। पक्राउ परेका यी चार जना भने ग्राहक खोज्दै त्यहाँ पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कोकिनका मुख्य कारोबारी भने अर्कै छन्। ‘ती कारोबारीको पहिचान भइसकेको छ,’ थापाले भने।

कमेन्टहरु