मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
५५ वर्षको उमेरमा नागरिकता


बाजुरा, जेष्ठ १ । गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता पाएकी छन् । सोही गाउँपालिका ४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बुधबार नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । वादीले ५५ बर्ष सम्म नागरिकता पाउन सकेकी थिएनन् । माइती घर डोटीको सिलगढी भएपनि विवाह गरेर बाजुरा आएकी वादी श्रीमान् र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट वञ्चित भएकी थिइन् ।
प्रमुख जिल्ला अधिकारी पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिलाएपछि वादीको मुहारमा खशी छाएको छ । उनका श्रीमान रोजगारीका लागि भारत जान्छु भनेर गएको ७ वर्ष भन्दा बढी भयो । तर उहाँ हालसम्म न परिवारको सम्पर्कमा छन्, नत अन्यको । वादीका १ छोरा २ छोरी छन् ।
मानाकोटस्थित गदाडाको तल्लो बस्तीमा टिनको टहरामा बस्दै आएकी वादीलाई अल्पसंख्यक भन्दा फरक नर्पाला । किनकी उनको परिवार बाहेक अन्य छैनन् । नागरिकता नहुँदा सुकुम्बासिको फारम भर्न समेत छुट्ने गरेको थियो । भने वडा कार्यालयबाट पाउँने सम्पूर्ण सेवा सुविधाबाट वादीसहित छोराछोरी वञ्चित थिए ।
प्रमुख जिल्ला अधिकारीको लामो समयको अथक प्रयासले गर्दा नागरिकता पीडित महिलालाई उपलब्ध गराउन सफल भएको गौमुल गाउँपालिका वडा नं.४ का वडाध्यक्ष अमर बहादुर विकले बताएका छन् । नागरिकता पाउनबाट वञ्चित जिल्लाका नागरिकलाई सहज र कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।























