प्रबास, विश्व, समाज

अमेरिकी राष्ट्रपति ट्रम्प कतारमा अमिर शेख तमिम बिन हमद अल थानीले गरे स्वागत

रामएकवाल राम
२०८२ बैशाख ३१ | मध्यान्ह ०६:०१ बजे

दोहा – पश्चिम एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार कतारको राजधानी दोहा पुगेका छन् । डोनाल्ड ट्रम्पलाई बोकेको विमान दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

एयर फोर्स वानबाट ओर्लेलगत्तै ट्रम्पले कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीसँग हात मिलाए । ट्रम्प २१ औं शताब्दीमा कतारको भ्रमण गर्ने दोस्रो अमेरिकी राष्ट्रपति हुन् । यसअघि सन् २००३ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले कतारको भ्रमण गरेका थिए ।

खाडी क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा रहेको कतार ट्रम्पको पहिलो कुटनीतिक भ्रमणको प्राथमिकतामा परेको हो । उनले कतारी शेख अल-थानीसहित शीर्ष कतारी अधिकारीहरूसँग श्रृंखलाबद्ध बैठकहरू गर्ने बताइएको छ । दुई पक्षबीचको बैठकमा सैन्य सहयोग र क्षेत्रीय सुरक्षा एजेन्डा शीर्ष स्थानमा रहने अपेक्षा गरिएको छ ।

कतार इजरायल र हमासबीच विगतमा भएको युद्धविराम र शान्ति स्थापनाको प्रयासका लागि प्रयासरत एक प्रमुख मध्यस्थकर्ता हो । ट्रम्पको भ्रमणको क्रममा गाजा युद्धविराम प्रयासहरू पनि प्रमुखताका साथ प्रस्तुत हुने अनुमान लागिएको छ ।

 

साउदी अरबको राजधानी रियादबाट दोहाको यात्राका क्रममा ट्रम्पले पत्रकारसँग रूसी समकक्षी भ्लादिमिर पुटिन टर्कीए गएको खण्डमा युक्रेन वार्ताका लागि त्यहाँ जान इच्छुक रहेको बताएका छन् । ‘मलाई थाहा छ कि उनी म त्यहाँ भएको चाहन्छन्, र त्यो सम्भावना छ । यदि हामीले युद्ध अन्त्य गर्न सक्यौं भने म यसबारे सोच्नेछु ट्रम्पले भने ।

कमेन्टहरु