मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
प्रेस सेन्टर बाजुरा द्वारा प्रजिअलाई ज्ञापनपत्र


राजेन्द्र विक
बाजुरा, बैशाख २८ । प्रेस सेन्टर नेपाल बाजुराले प्रमुख जिल्ला अधिकारी मेघनानाथ पाध्यालाई ज्ञापनपत्र बुझाएको छ । सञ्चार क्षेत्रका विभिन्न माग राख्दै प्रेस सेन्टर बाजुराका अध्यक्ष राजेन्द्र विक लगायतको टोलीले प्रजिअ मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।
स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन र केन्द्रबाट वितरण हुने सरकारी विज्ञापन स्थानीय तहका सञ्चारमाध्यमले समेत पाउनेगरी समानुपातिक वितरण प्रणाली लागू गर्नुपर्ने, अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन पर्ने,पत्रकार र मिडिया हाउसको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण हुनुपर्ने माग ज्ञापन पत्रमा राखिएको छ ।
पत्रकार दुर्घटना बिमालाई थप विस्तार गरी स्वास्थ्य बिमा र जीवन बिमाको व्यवस्था गर्नुपर्ने, पत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उपलब्ध गराइने भनेको ५० प्रतिशत छुटलगायतका पूर्व निर्णयहरु कार्यान्वयन गर्नपर्ने, सञ्चारकर्मीहरूले खरिद गर्ने सञ्चार सामग्री अनुदान र सञ्चारगृहका लागि सवारी साधन खरिद प्रक्रियामा भन्सार कर छुटको व्यवस्था गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा राखिएको प्रेस सेन्टर बाजुराका अध्यक्ष राजेन्द्र विकले बताए।























