स्वास्थ्य

बेनीको दरबाङमा निःशुल्क आँखा शिविरबाट सात सय जना लाभान्वित

रासस
२०८२ बैशाख २५ | बिहान ११:०१ बजे

बेनी । मालिका गाउँपालिका–६ दरबाङमा सञ्चालित तीनदिने निःशुल्क आँखा उपचार शिविरबाट ७१५ जना लाभान्वित भएका छन्।

मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ४५९ जना  महिला र २५६ जना पुरुषले आँखा परीक्षण गराएका हुन्।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालका अनुसार  शिविरमा ५२ जना महिला र २२ जना पुरुषसहित ७४ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो। बिरामीहरूलाई निःशुल्क औषधि र चस्मा पनि वितरण गरिएको थियो।

हिमालयन आँखा अस्पतालका चिकित्सक हरिविक्रम अधिकारी नेतृत्वको टोलीले  शिविर सञ्चालन गरेको हो। शिविरमा मालिका गाउँपालिकासहित धौलागिरि, मालिका, बेनी नगरपालिका र पर्वतको मल्लाजबाट पनि बिरामी सेवा लिन आएका थिए। 

कमेन्टहरु