यातायात

आठ किलोमिटर सडकखण्ड कालोपत्र गर्न २८ वर्ष लाग्यो

रासस
२०८२ बैशाख २१ | बिहान ०७:०१ बजे

गोरखा । गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने ८.३६ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ। ट्रयाक खुलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले यो सडक कालोपत्र गरेको हो। 

सात मिटर चौडाइको दुई लेनको यो सडक एमएस, बिरुवा, वाइबा एण्ड लामा जेभी कम्पनीले २९ करोड ७७ लाख रुपैयाँमा कालोपत्र गरेको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर कपिल काप्रीले बताए।

ठेक्का २०७७ साउन १५ गते सम्झौता भई २०८१ चैत मसान्तभित्र काम सक्ने लक्ष्य थियो। ‘कोभिड–१९ का कारण केही ढिलाइ भयो,’ काप्रीले भने, ‘सडक कालोपत्रसँगै एक मिटर चौडाइको नाली, ग्याविन र मेसिनरी पर्खाल निर्माण पनि सकिएको छ।’ सडक कालोपत्र भएपछि स्थानीय उत्साहित भएको बारपाक सुलिकोट गाउँपालिका–७ का अध्यक्ष कृष्ण गुरुङले बताए। सडक कालोपत्रको काम अन्तिम चरणमा छ।

‘यो ट्रयाक २०५४ मा खुलेको थियो, तर कालोपत्र भएको थिएन,’ उनले भने, ‘सधैँ कच्ची सडकमा यात्रा गर्नुपर्ने चिन्ता थियो।’ कच्ची सडक हुँदा बर्खामा पहिरो र हिलोले सास्ती भएको गुरुङले बताए। ‘पहिला यातायातको समस्या थियो। बर्खामा सडक हिलाम्य हुँदा सास्ती हुन्थ्यो। अब कालोपत्र भएपछि बर्खामा पनि सहजै यातायात चल्ने छ,’ उनले भने।

यो सडकखण्ड कालोपत्र भएपछि गाउँपालिकावासीलाई जिल्ला सदरमुकाम आवतजावत गर्न सहज हुने छ। 

कमेन्टहरु