गण्डकी प्रदेश

अन्तिम चरणमा माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना

रासस
२०८२ बैशाख २० | बिहान ०९:०१ बजे

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। 

ठूलोखोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको यो आयोजना तीन वर्षअघि सुरु भएको हो। हाल यसको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ। आयोजना प्रमुख लोकबहादुर नायकले बाँध, विद्युत्गृह र पाइपलाइन जडान सकिएको र विद्युत्गृहमा उपकरण जडान तथा प्रसारण लाइन निर्माण अन्तिम चरणमा रहेको बताए। 

‘२०८२ को वैशाखसम्म परीक्षण उत्पादन सुरु गर्ने कार्यतालिका बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक स्तरोन्नतिका कारण अवरुद्ध भएपछि प्रभावित भएको छ,’ उनले भने, ‘सडकका कारण भौगोलिक रूपमा विकट क्षेत्रमा रहेको विद्युत्गृहका उपकरण ढुवानी रोकिँदा जडानमा ढिलाइ भएको हो।’

सुगुरथलामा बाँध, पानी थिग्राउने पोखरी, २ हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान भएको छ। फेदीमा विद्युत्गृह र स्विचयार्ड निर्माण भइरहेको छ। 

फेदीदेखि बन्दीसम्म १४ वटा टावर राखेर पाँच किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ। बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरी तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत विद्युत् केन्द्रीय प्रणालीमा जोडिनेछ। 

देव ऊर्जा कन्ट्रक्सनले सिभिल र हाइड्रोमेकानिकल तथा बिएफएल ब्याङलोरले इलेक्ट्रोमेकानिकल ठेक्का लिएका छन्। तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। प्रवर्द्धकको १० प्रतिशत लगानी छ भने २० प्रतिशत सेयर जारी गरी सर्वसाधारणबाट जुटाइनेछ।

कमेन्टहरु