भारतको किट विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु


पर्सा । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेकी छिन । उनको परिवार परिवार वीरगञ्जमा बस्दै आएको पुष्टि भएको छ । प्रिसा सर्लाहीको मलंगवा घर भइ हाल वीरगन्ज–१५ बस्दै आएका श्याम साहकी छोरी भएको पुष्टि भएको हो ।
उनको मृत्युबारे कलेजले राती ९ बजे फोन गरेर जानकारी दिएको भाइ गौरव साहले जानकारी दिए । प्रिसा एक वर्ष अगाडि मात्रै अध्ययनका लागि सो विश्वविद्यालयमा गएकी थिइन् । भाइ गौरबका अनुसार आज दिउँसो तीन बजे प्रिसाले घरमा फोन गरेर यही १८ तारिखमा नेपाल आउनका लागि टिकट काटिदिन आग्रह गरेकी थिइन् । प्रिसा बिहीबार साँझ मृत फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।
गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् । साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ। प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्।
उनले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिनसकेको त्यही अध्ययनरत एक नेपाली विद्यार्थीले बताए । साहको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ।























