अपराध, अर्थ

कपिलवस्तुमा स्रोत नखुलेको ४३ लाख नगदसहित एकजना पक्राउ

नवलपुर टुडे
२०८२ बैशाख १५ | बिहान ०९:०१ बजे

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले स्रोत नखुलेको झन्डै ४३ लाखसहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रौटाको प्रहरी टोलीले आइतबार ४२ लाख ९० हजार ४४४ रुपैयाँसहित शिवा पटवा भन्ने आशिष कुमारलाई पक्राउ गरेको हो । 

शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्ने कुमारसँग स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ रहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्रेको हो । 

उनको कोठामा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९०० नेपाली रुपैयाँ तथा २६ लाख ५४४ भारतीय रुपैयाँ गरी कुल रकम ४२ लाख ९० हजार ४४४ रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनको साथबाट एक थान पैसा गन्ने मेसिन पनि बरामद गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । 

कमेन्टहरु