तरकारी खेतीबाट आत्मनिर्भर मीना

गोरखा, चैत ९ । यहाँको गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिनुहुन्छ । उहाँले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ ।
यतिखेर उहाँको बारीमा अहिले ढकमक्क बन्दागोभी छ । काँक्रो, करेला र खुर्सानी गोड्ने बेला भएको छ । “बन्दापछि काँक्रो, करेलालगायत अन्य मौसमी तरकारीहरुको ‘सिजन’ सुरु हुन्छ । त्यसपछि प्याजको बीउ तयार गर्छु”, उहाँ भन्नुहुन्छ, “विषादी प्रयोग गर्दिनँ ।”
उहाँका अनुसार ११ वर्षअघि गाउँमा व्यावसायिक तरकारीखेती गर्ने चलन थिएन । जब उहाँले तरकारी खेती गरेर आम्दानी लिन थाल्नुभयो, त्यसपछि अरुले उहाँकै सिको गरे । उहाँ महिलाहरुले पनि केही न केही पेसा वा व्यवसाय गरे श्रीमान्को कमाइमा निर्भर हुनु नपर्ने बताउनुहुन्छ ।
उहाँले हालसम्म कुनै कृषि फार्म दर्ता गरी सरकारी अनुदान लिनुभएको छैन । उहाँ भन्नुहुन्छ, “म आफूले जे जति सक्छु गर्छु । अरूले अनुदान देलान्, साथ, सहयोग गर्लान् भनेर आशा लाग्दैन ।” उहाँको तरकारी बिक्री गर्ने मुख्य बजार गोरखा सदरमुकाम हो ।
व्यापारीहरु तरकारी लिन मीनाको बारीमै पुग्छन् । पहिलेजस्तो बजारको समस्या नभएको उहाँको अनुभव छ । गोरखा नगरपालिका–७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले कोइराला जस्ता परिश्रमी महिलालाई प्रोत्साहन गर्ने गरेको बताउनुभयो ।























